काठमाडौं । सरकारले गम्भीर प्रकृतिका अशक्त बिरामीलाई मासिक पाँच हजार जीविकोपार्जन भत्ता उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद बैठकले दुवै मिर्गौलाको काम नगर्ने, क्यान्सर रोगी र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका अपांग बिरामीलाई मासिक पाँच हजार भत्ता उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भएको छ ।
बैठकले व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको पहिलो चरणको अभ्यासलाई संस्थागत गर्दै यसलाई थप सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले विश्व बैंकले दोस्रो चरणका लागि दिने ६ अरब २१ करोड ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यस्तै काठमाडौँ विश्वविद्यालयमा अनुसन्धान तथा विकास केन्द्र स्थापनाका लागि कोरिया सरकारले उपलब्ध गराउने एक अरब चार करोड अनुदान सहयोग स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।