२० अर्ब उठाएर ४ अर्ब मात्र सडक मर्मतमा खर्च

Spread the love

सडक बोर्ड नेपालले सडक मर्मत कोषमा उठेको रकम सोही प्रयोजनमा विनियोजन गर्न अर्थ मन्त्रालयसँग माग गरेको छ । बोर्डका अनुसार सो कोषमा बर्सेनि २० अर्ब रकम उठ्ने गर्दछ तर यसमध्ये मन्त्रालयले बोर्डलाई ४ अर्ब रुपैयाँमात्र विनियोजन गर्ने गर्दछ । बोर्डले हाल २१७ नगरपालिका र ७३ जिल्ला विकास समितिमार्फत सो रकम सडक मर्मतमा विनियोजन गरेको जनाएको छ ।
सडक मर्मत तथा सम्भार गर्ने ध्येयले सडक बोर्ड ऐन २०५८ अनुसार बोर्डको स्थापना भएको हो । बोर्डका १५ आँं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा दिइएको जानकारीअनुसार सडक मर्मतमा एक रुपैयाँ लगानी गर्दा यातायात मर्मतमा दुई रुपैयाँमात्र बचत हुने गर्दछ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरले सडक पूर्वाधार विकास र समृद्धिको आधार भएकाले यसको पूर्वाधारमा सरकारले लगानी बढाउँदै गएको बताए । यस्तै, राज्यमन्त्री सीतादेवी गुरुङले सडक मर्मतमा लगानी बढाउन आवश्यक भएकोमा जोड दिँदै गुणस्तरीय सडकले आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले नेताको आँगन र बारी छोएर सडक जाने प्रथा अन्त्य गरी नयाँ सडकसँगै मर्मतलाई पनि यथेष्ट रकम विनियोजन गर्ने परम्परा सुरु गर्नुपर्ने धारणा राखे । एमाले सांसद रवीन्द्र अधिकारीले समयमा सडक निर्माण सम्पन्न नहुने परिपाटीलाई अन्त्य गर्दै पहुँचका आधारमा भन्दा आवश्यकताका आधारमा सडक बनाइनुपर्ने बताए । कांग्रेस सांसद गगनकुमार थापाले सडक विस्तारमा रकम विनियोजन हुने तर मर्मतमा रकम नपर्ने परिपाटी अन्त्य गर्न जोड दिए ।
प्रधानमन्त्रीका प्रमुख आर्थिक सल्लाहकार ज्ञानचन्द्र आचार्यले आर्थिक रुपान्तरणका लागि सडक पूर्वाधारमा लगानी बढाउनुपर्ने आवश्यक रहेको बताए भने बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले सडक मर्मत कोषमा उठेको रकम सोही प्रयोजनमा विनियोजन गर्न अर्थमन्त्रालयसँग माग गरेका थिए ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *