अध्यक्ष पदबाट कमल थापाले राजीनामा दिनुपर्छ : गिरी

Spread the love

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजीनामा दिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्ने शहरी विकास मन्त्री दिलनाथ गिरीले बताएका छन् । गिरी पनि राप्रपाकै नेता हुन्, उनी राप्रपाबाटै मन्त्री भएका हुन् । पार्टी अध्यक्षसँग केही दिन अघि खटपट भएपछि मन्त्रिपरिषद्कै बैठकमा भनाभन भएको थियो । यिनै विषयमा सञ्जीव अधिकारीले नेता गिरीसँग गरेको कुराकानी–

० तपाईंलाई राप्रपाका नेता भनेर चिनाउन मिल्छ ?
– म राप्रपाभित्रै छु, त्यसकारण तपाईंले राप्रपाको नेता भनेर चिनाउँदा त्यसमा आपत्ति मान्नुपर्दैन ।

० मन्त्री चाहिँ भन्न मिल्दैन होला ?
– जे सहज हुन्छ, त्यो भन्दा भइहाल्छ । तर विधि र प्रकृयाबाट म मन्त्रीबाट हटेको छैन । मन्त्रीबाट हटाउन प्रधानमन्त्रीको स्वविवेकीय अधिकार हो, प्रधानमन्त्रीले मलाई जबसम्म तपाईंलाई हटाएँ भनेर जानकारी दिनुहुन्न, त्यसबेलासम्म म हटेको छु भन्ने लागेको छैन । तर म मन्त्री पदमा आशक्त छैन ।

० तपाईंलाई मन्त्रीबाट हटाउने चर्चापछि पार्टी अध्यक्ष कमल थापासँग छलफल भएको छ ?
– छलफल त के उहाँ र मेरोबीच टेलिफोन संवाद पनि भएको छैन । उहाँले मसँग के विषयमा असहमति राखेको हो, मेरो कसुर के रह्यो, त्यस विषयमा हामीबीच कुनै छलफल भएको छैन । उहाँले विधि र प्रकृयाअनुसार कार्य सम्पादनको बैठक बोलाएर मेरा विषयमा छलफल पार्टी अध्यक्षले गर्नुभएको छैन । अर्को कुरा, हाम्रो संसदीय दल छैन, राष्ट्रिय पार्टी पनि भएको छैन । जुन बेला मलाई मन्त्रीको सिफारिस गरियो, त्यो बेलामा संसद थियो, मन्त्री भइसकेपछि संसद विघटन भयो, त्यसपछि हाम्रा एजेन्डा बोकेर हामी अध्यक्ष कमल थापाको नेतृत्वमा निर्वाचनमा गयौं, निर्वाचन परिणामले हामी चौथो शक्तिबाट हामी शुन्यमा झ¥यौं । हाम्रो राष्ट्रिय पार्टी रहेन । उहाँले लोकतन्त्रको मूल्य र मान्यतालाई हामीले आत्मसात गरेको हो । यदि हाम्रो दल प्रजातान्त्रिक हो भने यहाँ हरेक निर्णयहरु प्रजातान्त्रिक मूल्य र मान्यतामा आधारित हुनुपर्छ । मैले सुरुदेखि नै यही विषयलाई उठाएको हुँ ।
यदि हामी प्रजातन्त्रलाई आत्मसात गछौं भने अध्यक्षको नेतृत्वमा हामी निर्वाचन अभियानमा गयौं, चौथो शक्ति शुन्यमा आयो, यसको नैतिक जिम्मेवार अध्यक्षले लिनुपर्छ । जिम्मेवारी लिनुको अर्थ उहाँले अध्यक्षबाट राजीनामा दिनुपर्छ, नयाँ नेतृत्व निर्माणका लागि सहयोगी भूमिका निर्वाह गर्नुपथ्र्यो ।

० यो अवस्थामा तपाईंलाई मन्त्री पदबाट हटाउन सिफारिस गर्ने तपाईंका अध्यक्षले नयाँ नेतृत्वका लागि बाटो देखाउँलान भन्ने कल्पना गर्न मिल्छ ?
– उहाँको जुन किसिमको सोच र चिन्तन छ, त्यो त व्यवहारमै देखाइदिनुभयो, त्यसैले अध्यक्षबाट नयाँ नेतृत्वको बाटो देखाउलान भन्ने कल्पना नगर्दा राम्रो हुन्छ । तर मेरो आग्रह कमल थापा भनेको राजनीतिक व्यक्तित्व, बौद्धिक क्षमता भएको, एउटा चिन्तक र विचारलाई गन्तव्यमा पु¥याउन सक्ने योग्यता र क्षमता राख्ने व्यक्ति हो भने मैले उहाँलाई नेता स्वीकार गरेर ४८ वर्षदेखि सहकार्य गरेर सँगै हिडेका छौं । मेरो विद्यार्थी जीवनदेखिको साथी हो, उहाँ । बीचमा आरोह अवरोह आयो, उहाँलाई विभिन्न व्यक्तिहरुले आरोपित पनि गरे, त्यसमा ढालको रुपमा रहेर मैले प्रतिबाद गर्दै आएँ ।

० कमल थापाको यस्तै व्यवहार हो भने राप्रपा अब हराउँछ ?
– कमल थापाको यही रवैया, यही निरंकुश सोच, चिन्तन र सामन्तवादी सोचले राजनीति दल अघि बढ्न सक्दैन । आर्दश र प्रजातान्त्रिक पार्टी नबनाएर यसलाई पारिवारिक क्लबका रुपमा लैजाने हो भने त्यो भन्दा हुन्छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *