महिलातर्फ एपिएफ र पुरुषतर्फ आर्मी च्याम्पियन

Spread the love

१५ पुस, पोखरा । राखेप च्याम्पीयनसिप अन्तर्गत ३१ औं पुरुष तथा २१ औं महिला भलिवलको उपाधि नेपाली सेनाको त्रिभूवन आर्मी र सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेका छन् ।

फाइनल खेलमा पुरुषतर्फ त्रिभूवन आर्मीले एपीएफलाई सोझो सेटमा हरायो । आर्मीले एपीएफलाई २५-१२, २५-२३ र २५-१५ को सेटमा हराएको हो ।पोखरा रंगशालामा शनिबार भएको खेलमा पुरुषतर्फ एपीएफलाई हराउँदै त्रिभूवन आर्मीले र महिलातर्फ मध्यमाञ्चललाई हराउँदै एपीएफले उपाधि उचालेका हुन् । विजेता दुबै टिमले ५०/५० हजार र उपविजेताले ३०/३० हजार पाएका छन् ।

महिलातर्फ भने एपीएफले रमिला तण्डुकार, प्रतिभा मालीसहित न्यू डायमण्ड एकेडेमीका खेलाडीहरुको टिम रहेको मध्यमाञ्चललाई सोझो सेटमा हराएको हो । एपीएफले २५-१८, २५-१४ र २५-१० को सेटमा जित निकाल्यो । रमिला र प्रतिभाले पोखरामा भने उत्कृष्ट प्रदर्शन गर्न सकेनन् ।

प्रतियोगितामा महिलातर्फ नेपाल प्रहरी र पुरुषतर्फ आयोजक पश्चिमाञ्चल तेश्रो भएका छन् । महिलातर्फ नेपाल प्रहरीले आयोजक पश्चिमाञ्चललाई सोझो सेटमा र पुरुषतर्फको खेलमा आयोजक पश्चिमाञ्चलले नेपाल प्रहरीलाई ३/२ को सेटमा पराजित गर्दै तेश्रो स्थान सुरक्षित गरेका हुन् ।

तेस्रो हुने टिमले २०/२० हजार प्राप्त गरे ।

प्रतियोगितामा पुरुषतर्फ नेपाली सेनाका मानबहादुर श्रेष्ठ र महिलातर्फ एपिएफकी सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुलाई नगद १५/१५ हजारसहित प्रमाणपत्र प्रदान गरिएकोछ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *