भैरहवालाई एक रनले पराजित पार्दै विराटनगरले उचाल्यो उपाधि

Spread the love

एभरेष्ट प्रिमियर लिगको फाइनलमा विराटनगर वारियर्सले भैरहवा ग्लाडियटर्सलाई १ ले पराजित गर्दै उपाधि जितेको छ। टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले दिएको १५० रनको लक्ष्य पछ्याउने क्रममा भैरहवाले ९ विकेट गुमाएर १४८ रनमात्रै बनाउन सक्यो।

 

लक्ष्य पछ्याउने क्रममा दोस्रो पारीको रोमाञ्चकता यस्तो थियो:-

पहिलो ओभरमै मुख्य बलर मैदान बाहिर

भैरहवाको पारीको सुरुवात उसका भारतीय खेलाडीद्धय प्रथम सालन्के र राहुल यादबले गरे भने बलिङमा विराटनगरले करण केसीलाई बल थमायो।

पहिलो ओभरको तेस्रो बलमा करण केसीले दिएको फुलटस बलमा प्रथमले चौका प्रहार गर्दै भैरहवाको खाता खोलेका थिए। पुनः पाँचौ बलमा कभरको दिशा तर्फ अर्को चौका प्रहार गर्दै उनले पहिलो ओभरमा ८ रन जोडे।

दोस्रो ओभर लिएर आएका विराटनगरका अर्का मुख्य पेश बलर श्रीलंकाली खेलाडी सहान अदिशाले पहिलो बल नै नो बल फाले। तर, प्रथम सालन्केले फ्रि हिटमा एक रन मात्रै लिन सके।

दोस्रो बल फाल्ने क्रममा खुट्टामा केही इञ्जुरी भएपछि बल नै नफालेका अदिशा कप्तान र चिकित्सकसँगको सल्लाहपछि मैदानबाट बाहिरिए।

बाँकी ओभर पुरा गर्न आएका कप्तान पारस खड्काको चौथो बलमा ब्याटको किनारा लागेर राहुल यादबले चार रन बटुले।

बसन्तको सुरुवातमा करणको साथ
तेस्रो ओभरमा विराटनगरका लागि बलिङमा आएका बसन्त रेग्मीले राम्रो सुरुवात दिलाए। उनले उक्त ओभरमा २ रन मात्रै खर्चदै भैरहवाका माथि केही दबाव श्रृजना गरे।

बसन्तले भैरहवाका ओपनरमाथि थपेको दबावलाई सदुपयोग गर्दै चौथो ओभरको दोस्रो बलमा करणले ओपनर राहुल यादबलाई प्वाइन्टमा अनिल साहलाई पवेलियन फर्काए।

६ रनमा पवेलियन फर्किएका यादव र सालन्केका बीच १९ रनको सोझेदारी भयो। त्यही ओभरको पाँचौ बलमा सालन्केले करणलाई छक्का प्रहार गर्दै आफूहरु माथिको दबाव कम गर्ने प्रयास गरेका थिए।

टिमका लागि पाँचौ र व्यक्तिगत दोस्रो ओभर लिएर आएका बसन्तले पुनः उत्कृष्ट बलिङ प्रदर्शन गरे। सो ओभरमा भर्खरै क्रिजमा आएका शरद भेषावकर मार्फत भैरहवाले १ रन मात्रै जोड्न सक्यो।

पारसलाई शरदको दुई चौका, पावर प्लेमा ३५ रन
पावर प्लेको अन्तिम ओभर लिएर आएका पारस खड्काको ओभरमा भैरहवाले ८ रन जोडे। भैरहवाका कप्तान शरदले विराटनगरका कप्तान पारसलाई दुई चौका प्रहार गर्दै ८ रन जोडेका थिए। शरदले ओभरको दोस्रो र चौथो बलमा चौका प्रहार गर्दै पावर प्लेमा टोलीको स्कोर १ विकेटको क्षतिमा ३५ रनमा पुर्याए।

अंशुमनको एकै ओभरमा ३६ रन
सुरुवाती पेशबलर सहान अदिशा चोटका कारण बाहिरिएपछि उनको ओभरहरु पुरा गर्न पारसले आठौँ ओभरमा अंशुमन रथलाई बलिङ थमाए। जुन ओभर टोलीका लागि टर्निङ प्वाइन्ट रह्यो।

सो ओभरमा अंशुमनले ३६ रन खर्चदै भैरहवाको जित सहज पारी दिए। उक्त ओभरमा शरदले ४ छक्का र १ चौका प्रहार गरे।

पहिलो बलमा भैरहवाका भारतीय खेलाडी सालिन्केले १ रन लिएपछि शरद भेषावकर स्ट्राइकमा आएका थिए। अंशुमनको फुलटस दोस्रो बलमा शरदले चौका प्रहार गरे।

नर्भस देखिएका अंशुमनले तेस्रो बल निकै छोटो(सट) फाले र उक्त बलमा पनि शरदले छक्का प्रहार गरे। नर्भस अंशुमनले चौथो बलमा वाइड फाले।

पुनः चौथो बल फालेका उनले नो बल फाले। फ्रि हिट पाएका शरदले पुनः छोटो बल पाए र छक्का प्रहार गरे।

पाँचौ बलमा कुनै रन भएन्।

छैटौं बल अंशुमनले वाइड फाले। पुनः सोही बल फालेका उनले नो बल फाले। फ्रि हिट शरदले अर्को छक्का प्रहार गरे।

दर्शकले निकै भरिभराउ मैदानमा निकै नर्भस देखिएका अंशुमनले चौथो पटक निकै कमजोर अन्तिम बल फाले र त्यसमा पनि शरदले छक्का प्रहार गर्दै ओभरबाट ३६ रन बटुले।

शरदको अर्धशतक र आउट
अंशुमनको कमजोर आठौँ ओभरमा शरद एक्लैले २८ रन जोडेका थिए। सोही स्कोरको सहायताले १३ औं ओभर शरदले आफ्नो अर्धशतक पुरा गरे। ३५ बलमा शरदले अर्धशतक प्रहार गरेका थिए।

१४ औं ओभरमा २ रन बटुलेका शरद बसन्त रेग्मीको १५ औं ओभरको पहिलो बलमा दुई रन लिने क्रममा रन आउट भए। करण केसीको सिधा थ्रोमा शरदले विकेट गुमाए।

३९ बलको सामना गरेका शरदले ५२ रन जोड्ने क्रममा ४ चौका र ४ छक्का प्रहार गरे।

आरिफको इनिङ्स
अविनाश कर्णको १६ औं ओभरको चौथो बलमा चौका र पाँचौ बलमा छक्का प्रहार गर्दै आरिफ सेखले भैरहवाको पारी अगाडी बढाए।

१७ औ ओभरको चौथो बलमा आरिफ सेखको क्याच प्रनित थापामगरले छोड्नु विराटनगरका लागि अर्को निराशापूर्ण क्षण रह्यो। त्यसबेला आरिफ २६ रनमा खेलिरहेका थिए।

सोही ओभरको अन्तिम बलमा करण केसीले प्रदिप ऐरी(६)लाई पवेलियन फर्काए।

पारसको विकेटले जगाएको आशा
१८ औं ओभरको समाप्तमा भैरहवालाई १२ बलमा ११ रनको खाचोँ थियो।

कप्तान पारस खड्का १९ औं ओभर लिएर स्वयम बलिङमा आए। पहिलो बलमा आरिफ सेखलाई डट गराएका उनले दोस्रो बलमा आरिफ सेखलाई एलबिडब्लुको सिकार बनाए। २६ बलको सामना गरेका आरिफले २७ रन जोडे।

सोही ओभरको अन्तिम बलमा पारसले रोहितकुमार पौडेललाई अआउट गर्दै भैरहवाको छैठौ विकेट झराउँदै जितको आशा जगाए। रोहितले ७ रनमा हुँदा अनिलको हातमा क्याच दिए।

अन्तिम ओभरको रोमाञ्चकता
अन्तिम ओभरमा भैरहवालाई जितका लागि ९ रन आवश्यक थियो। पारसले बल अनिल साहको हातमा थमाए।

उनको पहिलो बलमा कृष्ण कार्कीले चौका प्रहार गरे। दोस्रो बलमा राम्रो कमब्याक गर्दै उनले कृष्णलाई बोल्ड पारे।

दबावमा रहेको भैरहवाका लागि भर्खरै क्रिजमा आएका भुवन कार्कीले तेस्रो बलमा कुनै रन बनाउन सकेनन् भने चौथो बलमा पारस खड्काले उनलाई रन आउट पारे।

लगत्तै पाँचौ बलमा अनिलले भर्खरै क्रिजमा आएका पुनित मिश्रालाई विक्रम सोबको हातबाट क्याच गराएपछि अन्तिम बलमा भैरहवालाई जित्नका लागि ५ रन आवश्यक भयो।

अन्तिम बलमा भुपेन्द्र थापाले ३ रन बटुलेपनि स्काेर बराबर बनाउन १ रन नपुग्दा भैरहवा ९ विकेट गुमाएर १४८ रनमा सिमित हुन पुग्यो।

विराटनगरले उपाधिसँगै २१ लाख नगद हात पारेको छ। विराटनगरका पारस खड्काले ३ तथा अनिल साह र करण केसीले २ विकेट लिए।

त्यसअघि विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४९ रन बनाएको थियो।

त्यसअघि भएको पहिलाे पारीका महत्वपुर्ण क्षण यस्ता थिए–

फेरी फेल आसिफ
टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरको पारीको सुरुवात आसिफ सेख र अंशुमन रथले गरेका थिए। पहिलो विकेटका लागि दुबैले ३४ रनको साझेदारी गरे। जसमा आसिफ सेखले ७ रनको योगदान मात्रै गर्न सके।

पावर प्लेको अन्तिम ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका शरद भेषावकरलाई पहिलो बलमा चौका प्रहार गर्दै आसिफ (७) आक्रमक देखिन खोजे तर दोस्रो बलमा पुनः ठूलो सट प्रहार गर्ने कोसिसमा दिपेश पौडेललाई क्याच दिए।

प्रतियोगिताको पहिलो संस्करणमा शतक प्रहार गरेका आसिफ सेखले यस प्रतियोगितामा खासै गतिलो प्रभाव पार्न सकेनन्।

पहिलो खेलमा ललितपुरसँग ४, दोस्रोमा पोखरासँग शुन्य, तेस्रोमा चितवनसँग १४, चौथोमा भैरहवासँग १, पाँचौमा काठमाडौंसँग शुन्य, छैठौं क्वालिफायर्समा भैरहवा विरुद्ध शुन्य रन बनाएका उनले पुनः फाइनलमा ७ रन मात्रै जोड्न सके।

शरदको दुई क्याच मिस
त्यसअघि शरदले नै गरेको चौथो ओभरको अन्तिम बलमा अंशुमन रथले सिधा सट प्रहार गर्न खोज्दा बल सिधै शरदतर्फ आयो। उक्त क्याच उनको औलामा लाग्दै छुट्यो। त्यसबेला १९ रनमा खेलिरहेका अंशुमन लाई गुमाउने मौका भैरहवाले गुमायो।

१७ औं ओभरको अन्तिम बलमा भुवन कार्कीको बलमा प्रनितले प्रहार गरेको सट शरद भेषावकरको हातमा गएको थियो तर पुनः शरदको हातबाट क्याच छुट्यो।

आरिफले दिलाए ब्रेक थ्रु
आसिफको विकेटसँगै दोस्रो विकेटका लागि हङकङका कप्तान समेत रहेका प्रतियोगिताकै उच्च स्कोरर बाबर हायात क्रिजमा आए। शरद भेषावकरको पहिलो बलमै चौका प्रहार गर्दै उनले आफ्नो खाता खोलेका थिए।

पावरप्लेमा विराटनगरले १ विकेट गुमाएर ३९ रन मात्रै जोड्न सक्यो। क्रिजमा रहेका बाबर र अंशुमनको जोडीले विराटनगरको पारी अघि बढाउन खोजेका मात्रै के थिए, नवौ ओभरको चौथो बलमा आरिफ सेखले भैरहवाका लागि ब्रेक थ्रु दिलाए।

बाबर हयातलाई आसिफले विकेट किपर राहुल यादबको हातबाट क्याच गराउदै उनले भैरहवालाई ठूलो राहात दिलाए।

हरिशंकरले दिलाए पारस र अंशुमनको विकेट
१० बलमा ११ रनको पारी खेलेका बाबरले १ चौका प्रहार गरे। दोस्रो विकेटका लागि उनले अंशुमनसँग मिलेर २४ रनको साझेदारी गरेका थिए।

अंशुमनलाई साथ दिन तेस्रो विकेटका लागि विराटनगरका कप्तान पारस खड्का क्रिजमा आए। १० विकेटको समाप्तीमा विराटनगरले २ विकेटको क्षतिमा ६९ रन जोडेको थियो। अंशुमन ३६ तथा पारस १० रनमा खेलिरहेका थिए।

१३ औं ओभरको चौथो बलमा हरिशंकर साहले अंशुमन रथलाई पुनित मिश्राको हातबाट क्याच गराउँदै विराटनगरमाथि दबाब श्रृजना गरे। ४१ बलको सामना गरेका अंशुमनले ४१ रन नै बनाए। उनले ४ चौका र १ छक्का प्रहार गरे।

१५ औं ओभरको दोस्रो बलमा सय रन पुरा गरेको विराटनगरले सोही ओभरको चौथो बलमा कप्तान पारस खड्काका रुपमा चौथो विकेट गुमायो।

हरिशंकर साहको बलमा लगअनमा छक्का प्रहार गर्ने क्रममा उनलाई भुवन कार्कीले क्याच गरेका थिए। २२ बलको सामना गरेका पारसले २ छक्का र १ चौकाको मदतले २७ रन बनाए।
क्रिजमा दुई नयाँ ब्याट्सम्यान अनिलकुमार साह र प्रनित थापामगर भएपछि विराटनगरको रन गति रोकिएको थियो।

१७ औं ओभरको अन्तिम बलमा भुवन कार्कीको बलमा प्रनितले प्रहार गरेको सट शरद भेषावकरको हातमा गएको थियो तर पुनः शरदको हातबाट क्याच छुट्यो।
पुनित मिश्राले गरेको अर्को ओभरको पहिलो बलमै त्यसअघि जीवनदान पाएका प्रनितले चौका प्रहार गरे।

रोमाञ्चक १९ औं ओभर
खेलको १९ औं ओभर रोमाञ्चक रह्यो। भैरहवाका लागि २ विकेट लिइसकेका सफल बलर कृष्ण कार्कीलाई कप्तान शरद भेषावकरले बल थमाए।

१८ औं ओभरको समाप्तीमा विराटनगरले ४ विकेट गुमाएर १२३ रन बनाएको थियो। प्रनित १४ र अनिल १६ रन बनाएर खेलिरहेका थिए।

दुवै प्रतिभावान युवा खेलाडी भएकाले उनीहरु अन्तिम समयसम्म क्रिजमा रहे, विराटनगरले सम्मानजनक ठूलो स्कोर बनाउन सक्थ्यो।

१९ औं ओभरको पहिलो बलमा अनिल साहले छक्का प्रहार गर्दै त्यो संकेत पनि गरे। पहिलो बल वाइड फालेका कृष्णको दोस्रो बलमा अनिलले छक्का प्रहार गरेका थिए भने तेस्रो बलमा विराटनगरले ४ रन बाइ मार्फत प्राप्त गर्यो।

दुई बलमा ११ रन जोडेको विराटनगरका अनिलले तेस्रो बलमा पुनः सट खेल्न खोज्दा भुवन कार्कीको हातमा क्याच दिए। अनिल र प्रनितको ३४ रनको साझेदारी टुट्यो। १७ बल खोलेका अनिलले २ चौका र १ छक्काको मदतले २२ रन जोडे।

चौथो बलमा कृष्णले प्रनितलाई बोल्ड गरे। १३ बलमा प्रनित १४ रन बनाउँदै पवेलियन फर्के। १९ औं ओभरमा विराटनगरले १४ रन जोड्यो।

अन्तिम ओभरको पहिलो बलमा विकेट अन्तिम बलमा छक्का
अन्तिम ओभरका लागि शरदले बल आरिफ सेखलाई थमाए। आरिफको पहिलो बलमा भर्खरै क्रिजमा आएका सुमित महर्जन ३ रनमा रनआउट भए।

पाँचौ बलमा करण केसीले २ रन लिनेक्रममा पुनः भैरहवाले रनआउटका लागि अपिल गर्यो। थर्ड अम्पायरले करणलाई नटआउट दिएपछि अन्तिम बलमा उनले छक्का प्रहार गर्दै विराटनगरको पारी समाप्त गरे।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *