काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धन टुटाउन धेरैतिरबाट षड्यन्त्र भइरहेको बताएका छन्।
स्वास्थ्य परीक्षणका लागि बैंकक उड्नुअघि आज त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले दुई साताभित्रै माओवादीसँग पार्टी एकता हुने बताए। ‘पार्टी एकीकरणको काम तीव्र रुपमा अघि बढेको छ। एकताबाट केही अलोकतान्त्रिक र प्रतिक्रियावादी शक्ति आत्तिएका र तर्सिएका छन् तर तिनको प्रयास सफल हुँदैन,’ उनले भने।
गठबन्धन टुटाउन धेरैतिरबाट प्रयास भएको उल्लेख गर्दै उनले भने, ‘खुराफातीमा पिएचडी गरेका मान्छेहरुका बुद्धिले यो हिउँदमा घाम ताप्छ।’
प्रधानमन्त्री देउवा अझै केही दिन सत्ता लम्ब्याउन सकिन्छ कि भनेर लागिपरेको उनले आरोप लगाए। अल्झाउने काम छाडेर नयाँ सरकार गठनको मार्ग प्रशस्त गर्न पनि उनले देउवालाई आग्रह गरेका छन्। निर्वाचन आयोगसमेत ब्ल्याकमेलिङको सिकार भएको उनको आशंका थियो।
आज १:५५ बजे थाई एयरवेजको नियमित उडानबाट बैंकक गएका उनले त्यहाँको वुङरुगाड अस्पतालमा उपचार गराउनेछन्। मिर्गौला प्रत्यारोपणपछि उनी नियमिति स्वास्थ्य जाँचका लागि बैंकक जाने गरेका छन्।