काठमाडौं– राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) र निर्वाचन आयोगबीच रहेको समानुपातिक विवाद अझै समाधान हुन सकेको छैन ।
प्रदेशसभा समानुपातिकको बन्दसूची बुझाउने क्रममा राजपा नेपालले क्रमसंख्या, समावेशी समूह तथा लिङ्ग समेतमा गडबड गरेका कारण अहिले आएर विवाद भएको हो ।
राजपा नेपालले बुझाएको समानुपातिक सूचीमा दुई र पाँच नम्बर प्रदेशमा समावेशीतर्फ सबैलाई मधेशी सूचीमा नै राखिएको छ भने सात नम्बर प्रदेशमा तीनजनालाई खसमा राखेर अरु सबैलाई थारुको सूचीमा राखिएको छ ।
जब कि समावेशीका लागि थारु, आदिवासी जनजाति, मधेशी, महिला, मुस्लिम र खस आर्य छुट्याएर पठाउनु पथ्र्यो । तर सबैलाई मधेशी नै तोकेर पठाइएको हो । यहाँसम्म कि महिलालाई पुरुष र पुरुषलाई महिला पनि बनाएको छ । त्यसलाई आयोगले नै सच्याएको छैन ।
पठाएको सबै समानुपातिक सूचीलाई मधेशी कलस्टरमा नै राखिएको छ । यसले गर्दा अहिले क्रमसँख्या र समावेशी समूह अनुसार नाम छनौट गर्न समस्या भएको छ । सूचीमा सबै मधेशी भएका कारणले माथीबाट तीनजना पुरुष र सात जना महिलाको नाम दिन आयोगले भनेको छ ।
राजपा नेपालका लागि समावेशी नियम लागु हुनेछैन । किनभने राजपा नेपालले नै समावेशी समूह मिलाएर नाम पठाएको छैन । आयोगले क्रमसंख्या अनुसार नै नाम सच्याएर पठाउन भनेको छ ।
यस विषयमा राजपा नेपालका महासचिव केशव झाले बन्दसूची बुझाउने क्रममै आयोगले ध्यान नदिँदा अहिले समस्या भएको बताए ।
‘भूलबस सूची मिस्टेक भएर गएको थियो भने आयोगले सच्याउनु पर्ने थियो, सूचीसँगै सबै उम्मेवारको अरु कागजात पनि पेस गरिएको थियो त्यो अनुसार आयोगले मिलाउनु पर्ने थियो तर आयोगले पनि जस्ताकै त्यस्तै छाड्दा समस्या भयो ।’
तर, आयोग स्रोतले भने राजपाकै कारणले अहिले समस्या भएको दाबी गर्यो । आयोग स्रोतले भन्यो, ‘ दलहरुले समावेशी उम्मेदवारको नाम बुझाउँदा आयोगले सूची सच्याउन समय पनि दिएको थियो । त्यसबेला नाम सच्याएर पठाएन । नाम सच्याएर नपठाएपछि त्यही होला भनेर आयोगले छाडिएको हो।’
बन्दसूची बुझाउँदा राजपा नेपालले प्रदेश दुईबाट ४३ जनाको नाम पठाएको थियो । त्यसमध्ये एकजनाको प्रमाण नपुगेको भन्दै नाम आयोगले हटायो । तर, पुरुषको ठाउँमा महिलाको नाम र महिलाको ठाउँमा पुरुषको नाम हुँदा पनि कडाईका साथ जाँच भएन । यस्तै थारु, महिला, खस, मुस्लिम, दलितको ठाउँमा मधेशी लेखिएको थियो ।
पहिला गल्ती भयो भनेर पत्र नकाट्नेले अहिले चाहिँ गल्ती भयो भनेर पत्र लेख्नुको अर्थ नहुने राजपाको दाबी छ ।
राजपाले आयोगमा बुझाएको सूचीअनुसार पाँच नम्बर प्रदेशको १२ नम्बरमा विना पन्तको नाम रहेको छ । उनी खस हुन् तर उनलाई मधेशीमा राखिएको छ ।
त्यस्तै कल्पना पाण्डे, निर्मला मुडभरी भट्टराई, विष्णु श्रेष्ठ, बुद्धिसरा शाक्य यी सबैजना खस आर्य हुन तर यी सबैलाई मधेशी कलस्टरमा राखिएको छ । त्यस्तै सात नम्बर प्रदेशमा निर्मला राउत र आम्बादत्त तिवारी सबै खस आर्य हुन् तर उनीहरुलाई थारु कलस्टरमा राखिएको छ ।
त्यसैगरी, कृष्ण कुमारी राणा महिला हुन् तर यसलाई पुरुषको समूहमा राखिएको छ ।
आम्वादत्त तिवारी पुरुष हुन् तर उनलाई महिलाको समूहमा राखिएको छ । जसलाई अब आयोगले सच्याउन मानिरहेको छैन ।
राजपा नेपालले जसरी बुझाएको छ त्यसलाई आयोगले सोही अनुसार चिनेको आयोगका एक कर्मचारीले बताए ।
बन्दसूची बुझाउने क्रममै गडबढ रहेको अवस्थामा अहिले राजपाले बुझाएको अन्तिम सूची आयोगले स्वीकार नगरिरहेको अवस्थामा यो विवाद कसरी समाधान हुन्छ त्यो भने हेर्न बाँकी नै छ ।