रु चार अर्बको दूध आयात हुने

Spread the love

काठमाडौँ: नेपालमा विभिन्न मुलुकबाट करिब रु चार अर्बको दूध आयात हुने गरेको छ ।

नेपाल डेरी एशोशिएशनको १९ औँ साधारणसभामा आज यहाँ आयोजना गरिएको कार्यक्रममा करिब १५ अर्बको लगानी रहेको दुग्ध उद्योगमा भारत र युरोपका बजारबाट पाउडर दूध आयात गरिँदै आएको जानकारी दिइएको छ ।

कार्यक्रममा प्रतिनिधिसभाका नवनिर्वाचित सांसद जीवनराम श्रेष्ठले समृद्ध मुलुक निर्माण गर्नका लागि कृषि क्षेत्रलाई बलियो बनाउनुपर्नेमा जोड दिँदै आफ्नो पार्टीको घोषणापत्रमा खाद्यान्न, माछा, मासु र दूधमा दुई वर्षभित्र मुलुकलाई आत्मनिर्भर बनाउने र पाँच वर्षभित्र निर्यात गर्ने वातावरण विकास गर्ने उल्लेख गरिएको जानकारी दिनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले मुलुकको कूल गार्हस्थ्य उत्पादनमा दुग्ध उद्योगले नौ प्रतिशत कूल गार्हस्थ्य उत्पादनमा योगदान गरेको जानकारी दिँदै खाद्य उद्योगलाई आत्मनिर्भर बनाउन सकेमा उपभोग्य वस्तुमा हुने खर्च विदेशिनबाट जोगिने बताउनुभयो । महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले अहिले निर्वाहमुखी रहेको कृषि क्षेत्रलाई विकास गरी अर्थतन्त्रलाई सुदृढ गर्नुपर्नेमा जोड दिनुभयो ।

एशोसिएशनका अध्यक्ष सुमित केडियाले देशभर चार लाख ५० हजार कृषक परिवार दूध उत्पादन क्षेत्रमा आबद्ध रहेको र यस क्षेत्रले २० हजार नागरिकलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको बताउँदै दुग्ध विकास संस्थानले मूल्य निर्धारणमा अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । उक्त एशोसिएसनअन्तर्गत करिब २०० उद्योग छन् ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *