चिसोले एउटै वडामा साताभित्र पाँच जनाको मृत्यु

Spread the love

लहान, पछिल्लो केही दिनयता बढेको अत्यधिक चिसोका कारण सिरहाको कर्जन्हा नगरपालिकाको एउटै वडामा एक साताभित्र चार महिलासहित पाँच जनाको मृत्यु भएको छ ।

चिसोका कारण आइतबार कर्जन्हा नगरपालिका–६ निवासी ७१ वर्षीया अमिरतीदेवी यादवको मृत्यु भएसँगै सोही वडामा जाडोका कारण मृत्यु हुनेको संख्या पाँच जना पुगेको हो ।

यसअघि गत शुक्रबार सोही वडाकी ६२ वर्षीया सीमादेवी साह र गत बुधबार सोही ठाउँका ५२ वर्षीय विश्वनाथ साह, ७० वर्षीया रुनादेवी सदा र ७२ वर्षीया रामसुनैर साहको मृत्यु भएको सो वडाका वडाध्यक्ष जगदिश महतोले जानकारी दिनुभयो ।

उहाँले चिसोका कारण मृत्यु भएकाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले सरकारको तर्फबाट मृतक परिवारलाई क्रियाखर्च उपलब्ध गराउनु पर्ने माग गर्नुभयो ।

यस्तै अत्यधिक चिसोका कारण आइतबार सिरहाको लहान नगरपालिका–६ मा पनि एक महिलाको मृत्यु भएको छ । अत्यधिक चिसोका कारण कठ्यांग्रिएर लहान नगरपालिका–६ निवासी ६५ वर्षीया सीतादेवी भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो सँगै सिरहामा चिसोका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । यसअघि गत मंगलबार सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका–६ सीतापुर निवासी ४१ वर्षीया माकोदेवी पासवान, कल्याणपुर नगरपालिका घर भई सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित मामाघर आएकी पाँच वर्षीया काजलकुमारी मण्डलको मृत्यु भएको थियोे ।

चिसोको कारण निमोनियाले थलिएकी काजललाई उपचारको लागि लहानस्थित अस्पताल लैजाने क्रममा मृत्यु भएको परिवारजनले बताएका छन् ।

यस्तै चिसोकै कारण गत साता सिरहाको गोलबजार नगरपालिका–४ निवासी शम्भु साहको छ वर्षीय छोरा लभकुमार साह र गोलबजार–२ लालपुर निवासी ७० वर्षीय रामप्रसाद महतो र धनगढीमाई नगरपालिका–७ कसहा निवासी ५५ वर्षीय रामरतन महतोको मृत्यु भएको थियो ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *