जनकपुर– मधेस अभियन्ता डा सिके राउतलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषाको टोली अचानक उनको निवासमा पुगेको छ । जनकपुरस्थित माछाबजारमा उनी भाडाको घरमा बस्दै आएका छन् ।
आज मधेस बलिदानी दिवस रहेको र सो अवसरमा उनले राष्ट्रिय अखण्डताविरोधी कार्यक्रम गर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै प्रहरी शुक्रबार बिहानै उनलाई पक्राउ गर्न पुगेको हो ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक राम प्रकाश शाहको नेतृत्वका प्रहरी टोली उनको घरअगाडि बसिरहेको छ । उनलाई नियन्त्रणमा लिने प्रयास भैरहेको जिप्रका धनुषाले जनाएको छ ।
मधेस आन्दोलनका पहिलो सहिद रमेश महतोको सम्झनामा हरेक वर्ष माघ ५ लाई ‘मधेस बलिदानी दिवस’ का रुपमा मनाइँदै आएको छ । सो दिवसमा अवसरमा राउतले गतवर्ष जस्तै कार्यक्रम गर्न सक्ने अवस्थालाई मध्यनगर गर्दै प्रहरी पक्राउ गर्न पुगेका बताइएको छ ।
गतवर्ष बलिदानी दिवसमा उनले प्रहरीलाई झुक्याउँदै सिरहामा कार्यक्रम गरेर विखण्डनकारी अभिव्यक्ति दिएका थिए भने सोहि आधारमा पक्राउ समेत परेका थिए । यही क्रम यो वर्ष पनि दोहरिन सक्ने भन्दै प्रहरी चनाखो भएको हो।
राज्यलाई नै चुनौति दिँदै उनले मधेसमा राष्ट्र विखण्डनका लागि संगठन चलाउँदै आएका छन् ।