पार्टीमा महत्वपूर्ण योगदान दिएकालाई राष्ट्रियसभाको उम्मेदवार बनाउने काँग्रेसको निर्णय

Spread the love

काठमाडौँ – नेपाली काँग्रेसले राष्ट्रियसभा निर्वाचनको उम्मेदवार चयनका लागि केन्द्रीय कार्य समितिमा आएका सुझावलाई ध्यानमा राखी पार्टीमा महत्वपूर्ण योगदान दिएकालाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

पार्टीको केन्द्रीय कार्य समितिको हिजो सम्पन्न बैठकले आगामी केन्द्रीय कार्य समितिको निर्वाचन समीक्षा बैठकमा प्रस्तुत गर्न पार्टीका गाउँ, नगर, क्षेत्र, जिल्ला कार्य समितिले सम्बन्धित तहको बैठकमा भएको समीक्षा तथा निर्णयसहित र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका पार्टीका उम्मेदवारलाई एक महिनाभित्र केन्द्रमा लिखित प्रतिवेदन पेश गर्नका लागि निर्देशन दिने निर्णय गरेको छ ।

दुई दिनदेखि जारी बैठकले दशकौँसम्मको अथक संघर्ष प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनबाट प्राप्त भएको ठहर गरेको बैठकपछि पार्टी सचिव डा प्रदीप पराजुलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सम्पन्न निर्वाचनले नेपालको नयाँ संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने बाटोमा लगेको उल्लेख गर्दै समावेशी लोकतन्त्र, सम्प्रभु जनताको गणतन्त्र एवं समता र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक समाजवाद र समृद्ध नेपाल निर्माणको बलियो आधारशिला खडा गर्ने काम भएको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन र आर्थिक समृद्धि प्रत्याभूत गर्न एवं मुलुकलाई स्वाधीन, स्वाभिमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं समृद्ध नेपाल बनाउन तीनै तहको निर्वाचन कोशेढुंगा साबित भएको उल्लेख छ ।

बैठकले अत्यन्त उत्साह, संयम र धैर्यताका साथ आफ्नो मत दिनुहुने मतदाताको साथ, सहयोग र समर्थनले नेपाली काँग्रेसलाई थप प्रेरणा मिलेको निष्कर्ष निकालेको छ ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *