काठमाडौं– सरकारको सिफारिसमा शुक्रवार ७ वटै प्रदेशका प्रमुख (गभर्नर)हरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेका छन् ।
संविधान अनुसार प्रदेश प्रमुखले प्रत्येक प्रदेशमा नेपाल सरकारको प्रतिनिधिका रुपमा काम गर्नेछन् ।
बुधवार बसेको मन्त्रिपरिषद् बैठकले ७ वटै प्रदेशमा प्रमुख तोकेको थियो । मन्त्रिपरिषद्बाट तोकिने प्रदेश प्रमुखलाई राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
मन्त्रिपरिषदले १ नम्बर प्रदेशको प्रमुखमा गोविन्द सुब्बा, २ नम्बर प्रदेशको प्रमुखमा रत्नेश्वरलाल कायस्थ, ३ नम्बर प्रदेशको प्रमुखमा अनुराधा कोइराला, ४ नम्बर प्रदेशको प्रमुखमा बाबुराम कुँबर, ५ नम्बर प्रदेशको प्रमुखमा उमाकान्त झा, ६ नम्बर प्रदेशको प्रमुखमा दुर्गाकेशर खनाल र ७ नम्बर प्रदेशको प्रमुखमा मोहनराज मल्ललाई नियुक्त गर्न सिफारिस गरेको थियो । मन्त्रिपरिद्ले गरेको सिफारिसअनुसार नै शुक्रवार अपराह्न राष्ट्रपति भण्डारीले प्रदेश प्रमुखलाई शपथ ग्रहण गराएकी हुन् ।
कहाँ बस्लान् प्रदेश प्रमुख ?
संवैधानिक व्यवस्थाअनुसार प्रदेश प्रमुखको निवास र कार्यालय प्रदेशको मुकाम (राजधानी)मा रहनेछ । सरकारले प्रदेशसभाको पहिलो बैठक आह्वान गर्न ७ वटै प्रदेशको अस्थायी मुकाम तोकेको छ ।
सरकारले १ नम्बर प्रदेशको बिराटनगर, २ नम्बर प्रदेशको जनकपुर, ३ नम्बर प्रदेश हेटौंडा, ४ नम्बर प्रदेशको पोखरा, ५ नम्बर प्रदेशको बुटवल, ६ नम्बर प्रदेशको सुर्खेत र ७ नम्बर प्रदेशको धनगढीलाई अस्थायी मुकाम (राजधानी) तोकेको छ ।
तत्कालका लागि प्रदेश प्रमुखको कार्यालय र निवास प्रदेशको अस्थायी मुकाममा नै राखिने छ ।
भवन पाउनै गाह्रो
नवनियुक्त प्रदेश प्रमुखहरुले शुक्रवार अपराह्न शपथ ग्रहण गरेसँगै उनीहरुले अब काम थाल्ने छन् । शपथ ग्रहण गरेको दोस्रो दिन शनिवारको सार्वजनिक भएकाले माघ ७ गते (आइतवार)देखि उनीहरुले आफ्नो काम–काज थाल्नेछन् । तर प्रदेश प्रमुखले पद्भार ग्रहण गर्ने कार्यालयको भने टुंगो लागेको छैन ।
प्रदेश प्रमुखको कार्यालयको व्यवस्थापन गर्ने जिम्मा शहरी विकास मन्त्रालयले पाएको छ । प्रदेशस्तरमा साविकको क्षेत्रीय प्रशासन कार्यालयका प्रमुख (क्षेत्रीय प्रशासक) र शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुखले प्रदेश प्रमुखको कार्यालय खोजी गरिरहेका छन् ।
तर शुक्रवार अपराह्नसम्म कुनै पनि प्रदेशमा प्रदेश प्रमुखको कार्यालय र निवासको टुंगो लागिनसकेको शहरी विकास मन्त्रालयका प्रवक्ता शम्भु केसीले लोकान्तरलाई बताए ।
‘प्रदेश प्रमुख ज्यूहरुले भर्खर शपथ लिनुभएको छ । उहाँहरुको कार्यालयका लागि भवन खोजी भइरहेको छ,’ प्रवक्ता केसीले लोकान्तरलाई भने, ‘अहिले नै कुनै ठाउँमा टुंगो लागिसकेको छैन । तर उहाँहरु (प्रदेश प्रमुख)ले पद्भार ग्रहण गर्ने दिनसम्म कार्यालयको टुंगो लाग्ने छ ।’
धनगढी र बुटवलमा भवन पाउन गाह्रो
प्रदेश नम्बर ७ को अस्थायी मुकाम रहेको केलालीको धनगढी र ५ नम्बरको अस्थायी मुकाम रहेको रुपन्देहीको बुटवलमा प्रदेश प्रमुखको कार्यालय र आवाशका लागि भवन पाउनै गाह्रो भएको शहरी विकास मन्त्रालयका अधिकारी बताउँछन् ।
शहरी विकास मन्त्रालयले गरेको अध्ययनबाट बुटवलमा व्यवसायिक सीप विकास तालिम केन्द्रको भवन मात्रै प्रदेश प्रमुखको कार्यालय बनाउन उपयुक्त छ । तर उक्त भवन सजिलै प्राप्त गर्न सकिने अवस्था भने छैन । भाडामा लिनुपर्ने अवस्था भए उद्योग वाणिज्य संघको भवन पनि उपयुक्त हुने मन्त्रालयका प्रवक्ता केसीले बताए ।
यस्तै धनगढीमा पनि मुख्यमन्त्रीको कार्यालय सञ्चालन गर्न उपयुक्त सरकारी भवन भेटाउन सकिएको छैन । शहरी विकास मन्त्रालयको अध्ययन क्षेत्रीय स्वास्थ्य तालिम केन्द्र रहेको भवन प्रदेश प्रमुखको कार्यालयका लागि उपयुक्त हुने देखाएको छ । यस्तै कृषि तालिम केन्द्र, क्षेत्रीय वन कार्यालयको भवन पनि मुख्यमन्त्रीको कार्यालय राख्न उपयुक्त हुने विकल्प अगाडि सारिएको छ । तर ती कार्यालयलाई व्यवस्थापन गर्न केही समय लाग्ने शहरी विकास मन्त्रालयका अधिकारी बताउँछन् ।
प्रदेश नम्बर १ को बिराटनगर र प्रदेश नम्बर २ को जनकपुरमा प्रदेश प्रमुखको कार्यालयका लागि खोजी भइसकेको शहरी विकास मन्त्रालयका प्रवक्ता केसीले बताए । यद्यपि कुन भवनमा प्रदेश प्रमुखको कार्यालय रहनेछ भन्नेबारेमा भने उनले बोल्न चाहेनन् ।
प्रदेश नम्बर ६ को सुर्खेत, ४ को पोखरा र ३ को हेटौंडामा भने पहिलेदेखि नै प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि कार्यालयहरु तयार रहेको उनले दावी गरे ।
प्रदेश प्रमुखको कार्यालयमा कस्ता कर्मचारी ?
प्रदेश प्रमुखको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकअनुसार प्रदेश प्रमुखले १२ जनाको निजी सचिवालयको सुविधा पाउनेछन् । ती १२ जना प्रदेश प्रमुख आफैंले नियुक्त गर्न सक्नेछन् ।
तर, प्रदेश प्रमुखको कार्यालयमा सरकारका तर्फबाट १३ जना कर्मचारीको व्यवस्था गरिनेछ । प्रदेश प्रमुखको कार्यालयमा राजपत्रांकित प्रथम श्रेणीको सह–सचिवको नेतृत्वमा १३ जना सरकारी कर्मचारी परिचालन खटाइने छ ।
तर कुन कर्मचारीलाई कुन प्रदेश प्रमुखको कार्यालयमा खटाउने भन्ने विषयमा भने टुंगो लागेको छैन । सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपाने प्रदेश प्रमुखको कार्यालयका लागि आइतवारसम्म कर्मचारीको टुंगो लाग्ने बताउँछन् ।
‘प्रदेश प्रमुखको कार्यालयका लागि कर्मचारी सामान्य प्रशासन मन्त्रालयले नै पठाउने छ,’ प्रवक्ता न्यौपानेले भने, ‘कुन प्रदेशमा कहाँबाट कर्मचारी पठाउने भनेर गृहकार्य भइरहेको छ । आइतबारसम्म सबै प्रदेश प्रमुख कार्यालयका कर्मचारीको टुंगो लागिसक्ने छ ।’
लोकान्तर बाट साभार