काठमाडौं – नेपाल प्रहरीले पूर्व डिआइजी तथा ललितपुर क्षेत्र नम्बर १ बाट विजयी प्रतिनिधि सभा सभासद नवराज सिलवाललाई पक्राउ गर्ने डिफ्युजन नोटिस जारी गरेको छ।बढुवाका लागि कार्यसम्पादन मूल्यांकन (कासमू) कीर्ते गरेको अभियोगमा प्रहरीले छानविन शुरु गरेको केही दिनदेखि उनी फरार छन्। प्रहरीले केही दिनअघि मात्र प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरी सिलवाल कहीकतै भेटिए पक्राउ गरी महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाउन निर्देशन दिएको थियो।
सिलवालले पहिलोपोस्टसँगको अन्तर्वातामा आफू ललितपुरको भट्टे डाँडामा रहेको दावी गरेका थिए। आइतबार १ सय ६५ जना प्रहरिको टोलीले सिलवालाई भट्टेडाडामा खोजी गरेपनि नभेटिएपछि नोटिस जारी गरेको हो।
गत बिहीवार महानगरीय प्रहरी परिसर काठमाडौंले सिलवाल नेपालमा नरहेको भन्दै अपराध अनुसन्धान विभागलाई लिखित जानकारी गराएको थियो।
नेपाल प्रहरीको मुभमेन्ट सबै बुझेका सिलवालले इन्टरपोलमा नोटिस जारी हुने संकेत पाएलगत्तै सामाजिक सञ्जाल चलाउन छाडेका छन् भने भाइबरसमेत निश्क्रिय बनाइसकेका छन्। इन्टरपोलमा १ सय ९० देशको सुरक्षा निकाय जोडिएको छ।
के हो त डिफ्युजन नोटिस ?
अनुसन्धानका क्रममा प्रहरीले खोजेको व्यक्ति सम्पर्कमा नआएर देश बाहिर भागेमा उसलाई प्रहरी सम्पर्कमा ल्याउनका लागि इन्टरपोल सदस्य राष्ट्रलाई उक्त व्यक्तिको सम्पूर्ण विवरण र अनुसन्धानको विषय भरेर निगरानी तथा भेटिएमा खबर गरिदिन भन्दै अनुरोध गरिन्छ ।
१९२ वटा देश यसको सदस्य रहेकाले ती सबै देशका प्रहरीले खोजी तथा निगरानी राखेर नेपाल प्रहरीलाई जानकारी गराउँछ ।