दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन नेपालमा

Spread the love

– सिवी अधिकारी

काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले दक्षिण एशियाकै पहिलो वातावरणमैत्री भवन निर्माण गरिरहेको छ ।

विभागको बबरमहलस्थित निर्माणाधीन भवन बनेपछि वातावरण प्रणालीका हिसाबले दक्षिण एशियाकै पहिलो हुने विभागका महानिर्देशक डा ऋषिराज शर्माले जानकारी दिनुभयो । “दक्षिण एशियामा यस्तोखालको वातावरणमैत्री भवन अहिलेसम्म कसैले बनाएको छैन, बनाउँदा बनाउँदै अरु कसैले बनायो भने मात्र हो नत्र हामी नै हौँ पहिलो”, उहाँले भन्नुभयो ।

मुलुकको मौसमी सूचना प्रणालीलाई आधुनिक र प्रभावकारी बनाउन अत्याधुनिक भवन बनाइएको महानिर्देशक शर्माको भनाइ छ । चार रोपनी क्षेत्रफलमा निर्माण भइरहेको उक्त भवनमा बढीभन्दा बढी सौर्य ऊर्जा प्रयोग गरिनेछ । ‘एयर टनेलिङ’ को व्यवस्था गरिने हुँदा यसले भवनको प्रत्येक कोठाको तापक्रम एउटै बनाउन मद्दत गर्छ ।

सामान्यतः वायुमण्डलमा तापक्रमको घटबढ असाध्यै धेरै हुन्छ । जमिनको पाँच÷दश मिटर तलतिर जाँदा तापक्रमको भेरिएसन बिहान, दिउँसो र राति त्यति धेरै हुँदैन । महानिर्देशक शर्माले भन्नुभयो, “अहिले बनाउन खोजिएको जमीनको तापक्रम सबै कोठामा पु¥याइनेछ, किनकि त्यहाँको हावा धेरै तातो पनि नहुने, धेरै चिसो पनि नहुने हुँदा त्यो हावा माथि पठाउँदा कोठाको तापक्रम बाहिरको जस्तो नभएर चिसोमा तातो र तातोमा चिसो हुन्छ । यसले एयर कण्डिसन (एसी) लगाउन नपर्ने हुँदा ऊर्जा बचत हुने भएकाले हामीले वातावरणमैत्री भनेका हौँ ।”

भवनमा मौसमी सूचना प्रवाह गर्न अत्याधुनिक मौसमी टिभी स्टुडियो, मौसमी उपकरण गुणस्तर मापनको प्रयोगशालालगायत अन्य थुप्रै प्रयोगशाला रहनेछ । विभागका अनुसार हाल भवनको करिब ४० प्रतिशत काम सकिएको छ । दशतले र पाँचतले दुई भवनमध्ये पाँचतले भवन ढलान भइसकेको छ । एक वर्षअघि शुरु भएको भवन निर्माण अबको करिब एक वर्षभित्रै सकिने महादिर्नेशक शर्माले बताउनुभयो । नेपाली ठेकेदार कम्पनीबाटै निर्माण भइरहेको भवनको कूल लागत मूल्यअभिवृद्धि करसहित रु ३८ करोड हुनेछ ।

भवन बनेपछि विभागले हाल भाडामा प्रयोग गरिरहेको कामपा–१ नागपोखरीको केन्द्रीय कार्यालय र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको मौसम पूर्वानुमान महाशाखालाई बबरमहलमै सारेपछि मौसमी गतिविधिसम्बन्धी सबै काम नयाँ भवनबाटै हुन्छ ।

विभागका हाल देशभर ठूला छ कार्यालय धरान, विराटनगर, नारायणगढ, पोखरा, सुर्खेत र नेपालगञ्जमा छन् भने १५ एकाइ कार्यालय छन् । विभागले मौसमी सूचना प्रणालीलाई विश्वस्तरको बनाउने लक्ष्यसहित सुर्खेत, पाल्पा र उदयपुरमा अत्याधुनिक मौसमी राडार जडान प्रक्रिया थालेको छ ।

मौसम पूर्वानुमानलाई थप परिष्कृत गर्न विभागले आगामी फागुनमा मौसम मापन गर्ने मौसमी बेलुन उडाउने तयारी गरेको छ । यसबाट विश्वको मौसम पूर्वानुमानलाई नेपालको तथ्यांक पनि प्रयोग गरेर सही मौसम पूर्वानुमान गरिनेछ (रासस)


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *