काठमाडौँ — निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न मुख्य सुटर श्याम लामा ‘गुम्बे’लाई प्रहरीले हिजो बेलुका चितवनबाट पक्राउ गरी काठमाडौं ल्याएको छ । अभियुक्त गुम्बेलाई भरतपुर महानगरपालिका वडा नं ६ गीतानगरबाट पक्राउ गरिएको हो । केही दिनयता सिआइबीको टोलीले लामाको पिछा गर्दै आएको थियो । गीतानगरको भित्री बस्तीबाट गुम्बेलाई पक्राउ गरिएको हो ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोलीले मुख्य सुटर गुम्बेलाई पक्राउ गरेको सिआईबीका प्रमुख डिआईजी पुष्कर कार्कीले बताए।
गौचन हत्याकाण्डका प्रमुख योजनाकार समिरमानसिंह बस्नेतसहित अन्यलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ।
गुम्बे नेपाली सेनाका भगौडा हुन्। काठमाडौंको गौरीघाटमा दावा लामालाई गोली प्रहार गरिएको घटनामा पनि उनको संलग्नता रहेको प्रहरीको दाबी छ।
व्यावसायी गौचनको असोज २३ गते राजधानीको शान्तिनगरमा गोली हानी हत्या भएको थियो। उनलाई मोटरसाइकलमा आएका व्यक्तिले गाडीमा गोली प्रहार गरेका थिए।
यसैगरी युवा संघ रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि उनी संलग्न रहेको प्रहरीको भनाइ छ। प्रहरी स्रोतका अनुसार लामा सार्प सुटर हुन्।
२०७३ साल ४ पुस दिउँसो साढे तीन बजे रुपन्देहीको देवदह–८ कोलिया मार्ग सडकमा गोली हानी तिवारीको हत्या गरिएको थियो।