राष्ट्रियसभा सदस्यका लागि बुधबार भएको मनोनयन दर्ताकै क्रममा १७ जना भाग्यमानी सभित भएका छन् ।प्रमुख दुइ वाम गठवन्धन र नेपाली काँग्रेस विच लगभग राष्ट्रिय सभा निर्वाचनमा युद्ध जस्तै गरेर लागि रहेको बेला १७ जनाले निर्विरोध भएका छन् ।
बुधबार सातवटै प्रदेशमा गरी कुल ८३ जनाको उम्मेदवारी परेको छ ।राष्ट्रिय सभाका लागि प्रत्येक प्रदेशबाट तीन महिला, एक दलित, एक अपाङ्ग वा अल्पसंख्यकका साथै तीनजना खुल्ला प्रतिस्पर्धाबाट गरी कुल ८ जना राष्ट्रिय सभा सदस्य हुने संवैधानिक प्रावधान छ ।
प्रदेश १ बाट तीन महिला सदस्यका लागि एमालेकी नैनकला ओझा, माओवादीकी विना पोखरेल र कांग्रेसकी सरिता प्रसाईको मात्र उम्मेद्वारी परेको छ । यदि दाबी विरोध प्रक्रियाबाट उम्मेदवारी खारेज नभए उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा हुने निर्वाचन आयोगले बताएको छ ।
प्रदेश २ बाट पाँच सदस्य निर्विरोध भएका छन् । खुलातर्फका ३ सदस्यका लागि ४ जनाको उम्मेदवारी परेको छ ।
महिला तीन सीटमा माओवादीकी शशीकला दाहाल, कांग्रेसकी मुक्ताकुमारी यादव र फोरमकी प्रमिला यादवको मात्रै उम्मेदवारी परेको छ । त्यस्तै दलित कोटामा फोरमका रामप्रीत पासवान र अल्पसंख्यकमा राजपा उपाध्यक्ष वृषेशचन्द्र लालको मात्रै उम्मेदवारी परेको छ ।
प्रदेश ३ र ४ मा सबै ८/८ सदस्यका लागि नै मतदान हुने भएको छ । प्रदेश ३ मा ८ सिटका लागि १७ र प्रदेश ४ मा १२ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश ५ बाट राष्ट्रियसभामा तीन महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् । एमालेकी कोमल वली, मीना बुढा र कांग्रेसकी अनिता देवकोटाको मात्रै उम्मेदवारी परेको छ । दावी विरोधलगायतको प्रक्रिया पूरा गरेपछि उनीहरु निर्विरोध निर्वाचित भएको घोषणा हुनेछन् ।
प्रदेश ६ मा भने सबै सिटमा चुनाव हुनेछ ।
प्रदेश ७ बाट भने खुला र महिलातर्फ ३/३ सदस्य निर्विरोध निर्वाचित भएका छन् । दलित र अपाङ्ग तथा अल्पसंख्यक सिटका लागि चुनाव हुनेछ ।
खुलातर्फ एमालेका शेरबहादुर कुँवर, माओवादीका हरिराम चौधरी र कांग्रेसका बद्री पाण्डे निर्विरोध भएका छन् । महिलामा एमालेकी इन्दू कडेरिया विष्ट र कमला ओली, कांग्रेसकी तारादेवी भट्टको मात्रै उम्मेदवारी परेको छ ।