ताप्लेजुङ- ताप्लेजुङ सदरमुकामका दुई आगलागी पीडित परिवारलाई स्थानीय सोसियल युथ गाईजले राहत सामग्री प्रदान गरेको छ ।
आगलागीबाट घर गुमाएका फुङलिङ नगरपालिका–५ का डिककुमार खबास र दिलबहादुर खबासको परिवाराई सो संस्थाले राहत प्रदान गरेको हो ।
सामाजिक कार्यमा क्रियाशील रहँदै आएको उक्त संस्थाले प्रतिपरिवार एक÷एक बोरा चामल, एक÷एक सेट खाना पकाउने भाडाकँुडा, ओढ्ने सिरक राहतस्वरुप आज प्रदान गरिएको संस्थाका अध्यक्ष केशव आचार्यले जानकारी दिनुभयो ।
पीडित परिवारलाई थोरै भए पनि सहयोग गर्ने उद्देश्यले संस्थाका सदस्यबाट रकम संकलन गरी राहत सामग्री खरिद गरी वितरण गरिएको आचार्यले बताउनुभयो ।
मंगलबार भएको आगलागीका कारण खबास दाजुभाइको दुई घर जलेर पूर्णरुपमा नष्ट भएको थियो भने करिब रु २६ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । पीडित परिवार अहिले आफन्तको शरण लिएर बसेका छन् (रासस)