वाम एकताको सैद्धान्तिक आधार सन्तुलित वितरण प्रणाली

Spread the love

काठमाडौँ, १६ पुस:  वाम एकताका सैद्धान्तिक आधार सामाजिक न्याय र सन्तुलित वितरण प्रणाली हुनुपर्नेमा जोड दिइएको छ ।

नेपाल अध्ययन केन्द्रले आज यहाँ आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले सामाजिक आर्थिक रुपान्तरण नै कम्युनिस्ट मान्यता भएकाले त्यसलाई एकताको आधार बनाउनुपर्ने सुझाइएको हो ।

नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले दुवै दलको पृष्ठभूमि विशिष्ट रहेको बताउँदै आगामी दिनमा एकताको प्रमुख आधार माक्र्सवाद, नेपाल कम्युनिस्ट पार्टी र समाजवाद बनाएर सामाजिक विकासको लक्ष्य प्राप्ति गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा (एमाले) का उपमहासचिव घनश्याम भुसालले विगतमा कम्युनिस्टले सामन्ती वर्गको अन्त्यका लागि संघर्ष शुरु गरेको भएपनि नेपाली परिवेशमा त्यो विश्लेषण पूरानो भएको बताउँदै श्रमजीवि र मध्यम वर्गको सुरक्षाका लागि राष्ट्रिय पूँजीको विकास गर्ने कार्यदिशा एकताको आधार बनाउनुपर्ने बताउनुभयो ।

वरिष्ठ पत्रकार श्याम श्रेष्ठले वाम एकताले लामो समयसम्म नेपाली राजनीतिमा ठूलो उथलपुथल ल्याउने विचार व्यक्त गर्दै युद्ध तथा संसदीय प्रणालीको परिवेशबाट आएका दुवै दलको साझा लक्ष्य समुदायको हित हुनुपर्ने सुझाव दिनुभयो ।

विश्लेषक हरि रोक्काले एकतापछि निर्माण हुने पार्टीले उत्पादनको स्रोत र साधनमा राज्यले नियन्त्रण गरी जनतालाई सन्तुलित वितरणको नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *