पुस १६ –
मंसिर १० गते सम्पन्न पहिलो चरणको निर्वाचनका संखुवासभाको सबै मतपत्र काठमान्डौ लगिएको छ । सर्वोच्च अदालतले पुस १४ गते दिएको आदेश अनुसार मतपत्र सहित मुचुल्का समेत आइतबार सेनाको हेलिकप्टर मार्फत निर्वाचन आयोग काठमान्डौ लगिएको हो ।
प्रतिनिधिसभा तर्फको मतगणनामा निर्वाचनका कर्मचारीहरुले एक पक्षिय ढंगबाट गणना गरेको र आप्mना मतहरु बदर बनाएको भन्दै पुन मतगणनाको माग गर्दै पुस ३ गते नेपाली कांग्रेसका प्रतिनिधिसभा उम्मेदवार दिपक खड्काले सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए । अदालतले रिट माथि सुनुवाई गर्दै पुस ७ गते कारण देखाउ आदेश जारी गर्दै वादी खड्का र प्रतिवादी निर्वाचन आयोग, मूख्य निर्वाचन अधिकृतको कार्यालय संखुवासभा, मूख्य निर्वाचन अधिकृत प्रकाश राउत र एमालेका प्रतिनिधिसभा उम्मेदवार राजेन्द्र प्रसाद गौतमलाई छलफलका लागि १४ गते बोलाएको थियो । शुक्रबारै न्यायाधिशहरु गोपाल पराजुली, दिपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्र शम्शेर जबरा र दिपक कुमार कार्कीको इजालसले कागज मगाउने आदेश दिएको थियो ।
अदालतको आदेशअनुसार निर्वाचनमा प्रयोग भएका मुचुल्कालगायत मतपत्रसहित सम्पूर्ण कागजात आयोगले मगाएको थियो । सोही अनुसार आइतबार जिल्लाका राजनैतिक दलका प्रतिनिधिहरुको रोहवरमा हेलिकप्टरबाट मतपत्र लगायतका सामाग्री काठमान्डौ पठाइएको प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए ।
संखुवासभामा प्रतिनिधिसभा तर्फ ६९ हजार २ सय २३ मत खसेकोमा ३ हजार २ सय ५६ मत बदर भएको थियो । प्रतिनिधिसभा तर्फ नेकपा एमालेका उमेद्धवार राजेन्द्र गौतमले काग्रेसका खड्कालाई १ हजार १ सय ३० मतअन्तरले पराजित गरेका थिए ।