काठमाडौँ, पुस १८ : नेकपा (एमाले) को तर्फबाट ललितपुर क्षेत्र नं १ का नवनिर्वाचित सांसद नवराज सिलवाल एशियन इन्ष्टिच्युट अफ टेक्नोलोजीद्वारा आयोजित ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेण्ट विथ स्पेशियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर पुग्नुभएको छ ।
सिलवालमाथि आज नेपाल प्रहरीले कीर्ते मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो । उहाँ एयर एशियाको नियमित उडानबाट सोमबार साँझ मलेसिया जानुभएको छ ।
सिलवाल हाल फरार रहेको भनी कतिपय सञ्चार माध्यमले गलत सूचना प्रवाह गरेको एमाले ललितपुरका प्रचार विभाग प्रमुख अमृतनाथ तिमल्सिनाले दाबी गर्नुभयो ।
रासस