नेपाललाई विकसित र सभ्य देश बनाउनुपर्छ – अध्यक्ष दाहाल

Spread the love

चितवन, २१ पुस – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले नेपाललाई आर्थिक क्रान्तिद्वारा संसारको सबैभन्दा विकसित र सभ्य देशका रुपमा चिनाउनुपर्ने बताउनुभएको छ ।

चितवन उद्योग संघको १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उहाँले नेपाललाई संसारले हेर्नै पर्ने देश बनाउनुपर्नेमा जोड दिनुभयो ।

राजनीतिक परिवर्तनका लागि संघर्ष गर्नुपर्ने समय अब सकिएको भन्दै उहाँले अब देशलाई विकास निर्माणतर्फ लैजानुपर्ने बताउनुभयो । उहाँले नेपालमा नयाँ संविधान निर्माण गरी स्थानीय तहदेखि प्रदेश हुँदै संघसमेतको निर्वाचन सम्पन्न भएकाले राजनीतिकरुपमा ऐतिहासिक परिवर्तन भयो अब मुलुक आर्थिक समृद्धितर्फ जानुपर्छ भन्नुभयो ।

उहाँले भन्नुभयो, “हामीले अब विकास निर्माणलाई गति दिन सकेनौँ भने राजनीतिक नेतृत्वको यो पार्टी, त्यो पार्टी, यो नेता त्यो नेताको मात्रै असफलता हुँदैन, सिँगै नेपाल असफल हुन्छ । त्यतिबेला नेपाल अहिलेसम्मकै सबैभन्दा अप्ठ्यारो स्थितिमा जानेछ ।”

अहिलेसम्म हामीले राजा र निरंकुशलतालाई दोष दिएको भन्दै उहाँले अब हामीले दोष लगाउने कुनै ठाउँ नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामी नयाँ संकल्प र प्रतिबद्धताका साथ विकास र समृद्धिलाई गति दिन सकिएन त्यसको सबैभन्दा ठूलो दोषी तपार्इं हामी सबै हुने स्थिति आउँछ ।” यो परिवर्तनलाई संस्थागत गर्दै दुई ठूला देशको बीचमा रहेर छिटोभन्दा छिटो उनीहरुको विकासबाट लाभ लिन सक्नुपर्ने बताउनुभयो ।

त्रिदेशीय साझेदारीले हामी अघि बढ्ने प्रचुर सम्भावना रहेको भन्दै अध्यक्ष दाहालले भन्नुभयो, “हामी सबैले एकचोटी संकल्प गरेर अब पाँच वर्षभित्र कम्तीमा नेपाली जनतालाई एउटा नयाँ युग आएको हो भन्ने अनुभूति गराउनुपर्छ ।”

आउँदो दशक नेपालको समृद्धिको दशकका रुपमा हामीले संसारलाई चिनाउनु पर्ने उहाँले बताउनुभयो ।

चितवन क्षेत्र नं ३ बाट निर्वाचित सांसदसमेत रहनुभएका दाहालले चितवन जिल्ला नेपालको आर्थिक विकासको राजधानी हुने बताउनुभयो ।

आर्थिक विकाससँग जोडिएको हुनाले चितवनको भविष्य र चितवनले खेल्नुपर्ने भूमिका सिँगै नेपालको आर्थिक विकासको निम्ति अग्रणी भएको उहाँले बताउनुभयो । देशको मध्यभागमा रहेकाले चितवनलाई आर्थिक ‘हब’ बनाउन सकिने सम्भावना रहेको पनि अध्यक्ष दाहालको भनाइ थियो ।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोख्रेलले देशको आर्थिक विकासका लागि चितवनका उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । चितवनलाई देशको आर्थिक राजधानीको रुपमा विकास गर्न सकिने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य विजय सुवेदी, उद्योग परिसंघका उपाध्यक्ष कृष्णप्रसाद अधिकारी, औद्योगिक क्षेत्र व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष नन्दकिशोर बस्नेत, नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, पोल्ट्री व्यवसायी गुणचन्द्र विष्ट, संघका वरिष्ठ उपाध्यक्ष भेषराज दुवाडीलगायतले बोल्नुभएको थियो ।

संघका अध्यक्ष भीमबहादुर पाण्डेको अध्यक्षतामा भएको उद्घाटन सत्रमा महिला उद्यमी शान्ता पोखरेल न्यौपानेलाई सम्मान गरिएको थियो ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *