हत्याको विरोधमा रुपन्देही बन्द !

Spread the love

बुटवल, २२ पुस – रुपन्देहीको देवदह नगरपालिका वडा नं ५ का स्थानीय व्यवसायीसमेत रहेका बलु भनिने वसन्त पौडेलको हत्याको विरोधमा आज रुपन्देही जिल्ला बन्द गरियो ।

आफ्ना कार्यकर्ताको हत्या भएको विरोधमा युवा संघले आज रुपन्देही बन्द गरेको हो । बन्दका कारण पूर्व–पश्चिम राजमार्ग र सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलखण्ड भएर चल्ने गाडी ठप्प भएका थिए । उद्योग कलकारखाना, बजार, व्यवसाय सबै ठप्प भएपनि बन्दका क्रममा कहीँकतै कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

रुपन्देही देवदह खैरेनीका ४० वर्षीय वसन्त पौडेल बलुलाई देवदह–२ ढेकारमा रहेको आफ्नो काष्ठ उद्योगमा बसेर आगो तापिरहेका बेला शुक्रबार बिहान मोटरसाइकलमा आएका दुईजनाले गोली हानी हत्या गरेका थिए । घटनामा संलग्नलाई तत्काल कारबाहीको माग गर्दै युवा संघले बन्दको आह्वान गरेको अध्यक्ष नहकुल शाहीले जानकारी दिनुभयो ।

मृतक पौडेल एमालेका स्थानीय कार्यकर्ता र रुपन्देही क्षेत्र नं १ का एमाले अध्यक्ष नीलकण्ठ पौडेलका छोरा हुनुहुन्छ । घटना भएलगत्तै गुण्डा नाइके भन्दै प्रहरीले खोजिरहेका मनोज पुनले स्थानीय सञ्चारकर्मीलाई टेलिफोन गरी पौडेलको हत्या आफ्नो समूहले गराएको भन्दै जिम्मा लिएका थिए । गत वर्ष पुस ४ गते युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको पुनको योजनामा देवदहमै गोली हानी हत्या गरिएको थियो ।

हत्याको जिम्मा मनोज पुनले लिएका कारण उनको खोजीमा प्रहरी सक्रियरुपमा लागिरहेको र हत्यामा संलग्नको खोजी भइरहेको जिल्ला प्रहरी रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिनुभयो ।

यस्तै, पौडेलको हत्याको रुपन्देहीका विभिन्न व्यावसायिक संघसंस्थाले विरोध जनाएका छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमाल, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, रुपन्देही व्यापार संघका अध्यक्ष मोतिलाल पाण्डे र उद्योग व्यापार संगठन, बुटवलका अध्यक्ष खेम श्रीसले आज जारी गर्नुभएको संयुक्त विज्ञप्तिमा पौडेलमाथि भएको गोली प्रहार र विभत्स हत्याले व्यवसायी संघसंस्था स्तब्ध भएको जनाइएको छ ।

विज्ञप्तिमा शृंखलाबद्घ ढंगबाट निरन्तर घटिरहेका यस्ताखालका दुःखद र त्रासदीपूर्ण घटनाले व्यावसायिक सुरक्षाप्रति प्रश्न चिह्न खडा भएको छ भने जिल्लाको व्यावसायिक क्षेत्र अन्योल बनेको छ । यस्तो कायरतापूर्ण हत्याको घोर भत्र्सना गर्दै हत्यारालाई यथाशीघ्र गिरफ्तार गरी कडाभन्दा कडा कारबाही गर्न र व्यावसायिक सुरक्षाको ग्यारेण्टी गर्नसमेत माग गरिएको छ ।

यता घटनाको सम्बन्धमा अनुसन्धान गरी सत्य तथ्य पत्ता लगाई उक्त घटनामा संलग्न व्यक्तिको पहिचान एवं पक्राउ गर्नका लागि संघीय प्रहरी एकाइ कार्यालय, भैरहवाले प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीको संयोजकत्वमा सात सदस्यीय अनुसन्धान टोली गठन गरी अनुसन्धान कार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *