निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

Spread the love

काठमाडौँ, २२ पुस – नेपाल—पाकिस्तानबीचको मैत्री सम्बन्धलाई जनस्तरमा अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले आज यहाँ निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
पाकिस्तानबाट छात्रवृत्ति प्राप्त गरेका नेपाली चिकित्सकहरुको संलग्नतामा भएको सो शिविरमा नाक, कान, घाँटी, हाडजोर्नी, दाँत, बालरोग, महिलासँग सम्बन्धित विभिन्न रोगको परीक्षण गरिनुको साथै विरामीलाई तीन महिनासम्मको औषधि निःशुल्क प्रदान गरिएको थियो । कालीमाटी परोपकार विद्यालयमा सञ्चालन गरिएको सो शिविरमा करिब एक हजार विरामीले स्वास्थ्य परीक्षण गरेका छन् ।
स्वास्थ्य शिविरको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल— पाकिस्तानबीचको मैत्री सम्बन्धलाई केन्द्रीय सरकारको रुपमा मात्र नभई स्थानीय सरकार र जनस्तरमा समेत विस्तार गर्नु पर्नेमा जोड दिनुभयो । उहाँले राजधानीमा वसोवास गर्ने शहरी गरिबलाई लक्षित गरी सञ्चालन गरिएको शिविर निकै उपयोगी रहेको बताउनुभयो ।
पूर्व उपप्रधानमन्त्री एवम् नेकपा (माले) का महासचिव सीपी मैनालीले नेपाल—पाकिस्तानबीचको सम्बन्ध नयाँ परिवेशमा विस्तार हुँदै जाने धारणा राख्नुभयो ।
नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति गंगाप्रसाद उप्रेतीले नेपालमा प्राविधिक जनशक्ति उत्पादनमा पाकिस्तानले छात्रवृत्ति प्रान गरी महत्वपूर्ण सहयोग गरेको बताउँदै साहित्यिक, सांस्कृतिक क्षेत्रमा पनि सम्बन्ध विस्तार भएको उल्लेख गर्नुभयो ।
नेपालका लागि पाकिस्तानका राजदूत डा मजार जावेदले नेपाल–पाकिस्तानबीचको परम्परागत मैत्री सम्बन्धलाई जनस्तरमा विस्तार गर्न नेपाल पाकिस्तान मैत्री तथा सांस्कृतिक संघले विभिन्न रचनात्मक कार्य गर्दै आएकामा धन्यवाद दिनुुभयो ।
कार्यक्रममा संघका अध्यक्ष हिमालयशंसेर राणा र महासचिव मन्जुरत्न शाक्यले नेपाल—पाकिस्तानबीचको सम्बन्धलाई जनस्तरमा विस्तार गर्न सात वर्षदेखि वर्षमा दुईपटक यस किसिमका स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *