स्पानिस खेलाडी डिएगो कोस्टाको एथ्लेटिको मड्रिडमा पुनरागमन मिश्रित रह्यो। गएराती भएको ला लिगाको खेलमा कोस्टाले एक गोल गरे तर उनले पुरा समय खेल्न पाएनन्। कारण गोल गर्ने बित्तिकै उनी मैदान बाहिरिए।
उनलाई कुनै खेलाडीले रिप्लेलेस गरेका कारण उनी मैदान बाहिरिएका होइनन्। बरु गोल गरेर सेलेब्रेसन गरेका कारण उनलाई रेफ्रीले दोस्रो पहेँलो कार्ड देखाइदिए र दोहोरो पहेँलो कार्ड खाएपछि कोस्टा मैदान छाड्न बाध्य भएका हुन्।
ला लिगाअन्तर्गत गएराती भएको खेलमा दोस्रो स्थानको एथ्लेटिको मड्रिडले गेटाफेलाई २-० ले पराजित गर्यो र त्यसमा कोस्टाले दोस्रो गोल गरेका हुन्। उनले ६२औँ मिनेटम पहिलो पहेँलो कार्ड पाएका थिए। ६८औँ मिनेटमा गोल गरेपछि उनले दर्शकमाझ गएर सेलेब्रेसन गरेका थिए। तर रेफ्री झोस मानुएराले उक्त सेलेब्रेसनका कारण कोस्टालाई अर्को पहेँलो कार्ड पनि देखाए।
एथल्टिकोका लागि एन्जेल कोरेअले १८औँ मिनेटमा पहिलो गोल गरेका थिए।
जितपछि १८ खेलबाट ३९ अंक जोडेको एथ्लेटिको अंक तालिकामा दोस्रो स्थानमा छ र एक खेल कम खेलेको लिग लिडर बार्सा भन्दा अझै ६ अंकले पछि छ।
यस्तै एक गोलले पछि परेको तेस्रो स्थानको भ्यालेन्सियाले गिरोनालाई २-१ ले पराजित गरेको छ। आठौँ मिनेटमै क्रिस्टियन पुर्टुले गोल गर्दै गिरोनालाई अग्रता दिलाएका थिए। गिरोनाकै जोनास रमाल्होले २७औँ मिनेटमा आत्मघाती गोल गरेपछि भ्यालेनसियाले १-१ को बराबरी गर्यो। भ्यालेन्सियाका लागि ४८औँ मिनेटमा ड्यानिएल परेजोले पेनाल्टीमार्फत गरेको गोल निर्णाय बनेको थियो।
जितपछि १८ खेलबाट ३७ अंक जोडेको भ्यालेनसिया तेस्रो स्थानमा कायम छ।
पाँचौ स्थानको सेभिया भने रियल बेटिससँग ५-३ ले पराजित भएकव छ। बेटिसका लागि फावियन, जाउहेर फेडल, रिजा दुर्मसी, सर्जिओ लियन र क्रिस्टियन टेलोले गोल गरे। सेभियाका लागि विसम वेन येडर, सिमोन कजार र क्लेमेन्ट लेङलेटले गोल गरे।