दाङमा आजदेखि हवाई सेवा

Spread the love

तुलसीपुर, दाङ, २३ पुस – लामो समयदेखि अवरुद्ध भएको दाङको हवाई सेवा पुनः सञ्चालन शुरु भएको छ ।

आजदेखि समिट एयरले तुलसीपुरदेखि काठमाडौँका लागि हप्तामा दुईपटक उडान शुरु गरेको हो ।

आज पहिलो उडानमा उपप्रधानमन्त्री कृष्णबहादुर महरा, एमालेका नेता प्रकाश ज्वाला, दाङ क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसी, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेयसहित यात्रु बनेर दाङ आउनुभएको थियो ।

जहाज अवतरण भएपछि विमान चालक, उपप्रधानमन्त्री  महरासहितको टोलीलाई टरिगाउँ विमानस्थलमा स्वागत गरिएको थियो । सो अवसरमा उपप्रधानमन्त्री महराले हवाई सेवालाई अब नियमित गराइने बताउनुभयो । उहाँले धावन मार्गको क्षेत्र विस्तार र इन्धन डिपोको निर्माणका लागि आफूले  पहल गरिरहेको बताउनुभयो ।

फरक प्रसङ्गमा महराले अबको तीन हप्तापछि वाम गठबन्धनको सरकार बन्ने बताउनुभयो । एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण कुनै पनि हालतमा नरोकिने उहाँको भनाइ थियो ।

तत्कालका लागि दाङबाट काठमाडाँैका लागि प्रतिव्यक्ति रु ६ हजार ८०० देखि रु सात हजार २०० सम्म भाडा तोकिएको छ भने काठमाडौँबाट दाङका लागि रु सात हजार २०० भाडा निर्धारण गरिएको छ । समिट एयरले हप्तामा आइतबार र शुक्रबार उडान भर्ने जनाएको छ ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *