चार सय बिरामीको उपचार

Spread the love

जाजरकोट, २३ पुस – जुनिचाँदे गाउँपालिकामा आइतबारसम्म रुघाखोकी र ज्वरोका ४०० बिरामीको उपचार गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयबाट खटिएको स्वास्थ्यकर्मीको टोलीले जुनिचाँदे–१ को बड्कुले स्वास्थ्य चौकी, २ को भैरव मावि मजकोट र वडा नं– ३ को स्याँलामा  आज २५० भन्दा बढी बिरामीको उपचार गरेको छ ।

जुनिचाँदेमा दुई सातादेखि रुघाखोकी र ज्वरो फैलिएको थियो । रोग प्रभावित गाउँमा दुई हजारभन्दा बढी बिरामी परेका छन् । ज्वरो आउने, रुघाखोकी, टाउको दुख्ने, आँखा रातो हुने, घाँटी दुख्नेलगायत लक्षण देखिएको डा पवन शाक्यले बताउनुभयो ।

रुघाखोकी र ज्वरोबाट वृद्धवृद्धा र पाँच वर्षमुनिका बालबालिका बढी प्रभावित भएका उहाँले बताउनुभयो । अत्यधिक जाडो बढेपछि रुघाखोकी, ज्वरो आउनेलगायत समस्या देखिएको हो । जाडोका कारण अन्य ठाउँमा पनि  बिरामीको संख्यामा वृद्धि भएको छ । स्वास्थ्य कार्यालयले घुम्ती शिविर सञ्चालन गर्नुपर्ने पीडितले माग गरेका छन् ।

डा शाक्यसहित नौजना स्वास्थ्यकर्मीको टोली औषधिसहित रोग प्रभावित क्षेत्रमा पुगेको छ । जुनिचाँदेमा साताअघि रुघाखोकी र ज्वरोबाट नौजनाको मृत्यु भएको बताइएको छ । जुनिचाँदेको जुनी, चाँदे, काप्रा, बड्कुले, कार्कीगाउँ, स्याँला, मजकोट, आलीमौगाना, डाडाकोट, परालेमालगायत गाउँमा रुघाखोकी र ज्वरोका बिरामी बढेका छन् ।

रोग प्रभावित क्षेत्रमा सेनाको टोली

सदरमुकामबाट आज नेपाली सेनाको टोली आज रोग प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ ।

मंगलबारसम्म सेनाको टोली रोग प्रभावित क्षेत्रमा पुग्ने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख रामबहादुर नेपालीले जानकारी दिनुभयो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *