सहमतिमै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने प्रयासमा छौ, सञ्चारमन्त्री बस्नेत

Spread the love

काठमाडौँ, २३ पुस (रासस) ः सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सरकार सकेसम्म सबै दलको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने प्रयासमा रहेको बताउनुभएको छ ।

मन्त्री बस्नेतले आज आफ्नै कार्यकक्षमा रासससँग कुरा गर्दै सरकार सम्भव भएसम्म सहमतिमै उक्त निर्णय गर्ने भनेर पर्खेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म यस विषयमा सहमति जुटिसकेको छैन, सहमति भएन भने भोलि मन्त्रिपरिषद्को बैैठक पनि नबस्ने सम्भावना छ, प्रधानमन्त्री शेरबहादुर देउवाले यी दुबै विषयमा सबै दलसँग सम्भव भएसम्म सरसल्लाह गरेर नै निर्णय गर्ने विचारले छलफल जारी राख्नुभएको छ ।”

उक्त निर्णयमा किन ढिलाइ भएको भन्ने जिज्ञासामा सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बस्नेतले सबैको सहमतिमा प्रदेश प्रमुख र प्रदेशको अस्थायी केन्द्र तोक्दा प्रभावकारी र महत्वपूर्ण हुन्छ भन्ने प्रधानमन्त्री देउवाको मनसाय रहेको बताउनुभयो । सबै दलको सहमति लिन खोज्दा केही ढिलाइ देखिएको धारणा व्यक्त गर्दै उहाँले संविधान निर्माणमा सबै दलको सहमति र योगदान रहेकाले कार्यान्वयनमा पनि सहमति होस् भन्नेमा सरकार रहेको स्पष्ट पार्नुभयो । “तर दिन घर्किंदै गयो र ढिला हुन लाग्यो भने र समय बाँकी भएन भने सरकारले निर्णय लिन्छ”, उहाँले भन्नुभयोे ।

उहाँले सर्वदलीय बैठकमा अन्य दलले उक्त जिम्मेवारी सरकारको हो भने पनि दलले आफूले भनेजस्तो भएन भने विरोध गर्ने ठाउँ राखेको धारणा व्यक्त गर्दै भन्नुभयो, “सबै दलले सरकारले निर्णय गरोस् हामी समर्थन गर्छौं भनेर स्पष्ट भन्नु प¥यो । हामी तत्काल निर्णय गर्छाैं ।” प्रदेश र अस्थायी केन्द्रको निर्णय एकैसाथ गर्नुपर्ने बताउँदै उहाँले एउटाको मात्रले निर्णय अपूरो हुने विचार व्यक्त गर्नुभयो ।

राष्ट्रियसभा निर्वाचनका लागि त्यससम्बन्धी अध्यादेश जारी भएपछि प्रक्रिया अघि बढेको बताउँदै उहाँले निर्वाचनका सबै संवैधानिक प्र्रक्रिया पूरा गरेर सरकार सत्ता हस्तान्तरण गर्न आतुर रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “त्यसअघि सरकारले चाहेर पनि सत्ता हस्तान्तरण गर्न सक्दैन ।”

निर्वाचनको सफलताले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका दिनसम्म पनि सरकार निर्वाचन गराउन चाहँदैन, सक्दैन भन्ने लाञ्छनाबाट सरकार मुक्त भएकामा गर्व गर्दै मन्त्री बस्नेतले भन्नुभयो, “निर्वाचन शान्तिपूर्ण रुपमा निर्धारित समयमा सफलतापूर्वक सम्पन्न भएको छ ।”

निर्वाचनमा को हा¥यो, को जित्योभन्दा पनि मुलुक र जनताले जितेको धारणा व्यक्त गर्दै उहाँले भन्नुभयो, “हिजो काँग्रेसको नेतृत्वमा संविधान जारी भयो र आज हाम्रै पार्टीको नेतृत्वको सरकारको बेला कार्यान्वयन होस् भन्ने हाम्रो चाहना थियो, जुन पूरा भएको छ । यसमा हामी गर्व गर्छौं ।”

अब यो वा त्यो बहानामा राजनीतिक एजेण्डालाई सारेर होइन, एकजुट भएर मुलुक आर्थिक समृद्धिका लागि सबै लाग्नुपर्ने बताउँदै उहाँले हारजित निरन्तर चलिरहने गौण विषय भएको र मुलुक एवं जनताले जित्ने विषय प्रमुख भएको उल्लेख गर्नुभयो । – भीष्मराज ओझा RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *