बनेपा, २४ पुस – प्रदेश ३ को राजधानी काभ्रेपलाञ्चोक बन्नसक्ने सम्भावना यथावत छ ।
सरकारले अस्थायी राजधानी नतोेकेका कारण र ३ नं प्रदेशको राजधानीका लागि अधिकांश जिल्लालाई पायक पर्ने स्थान काभ्रेपलाञ्चोक नै भएका कारण पनि प्रादेशिक राजधानीको सम्भावना देखिएको हो ।
यस जिल्लालाई राजधानी बनाउने विषयमा प्रमुख राजनीतिक दलहरुबीच पनि मतैक्यता देखिएको छ । नागरिक समाज र राजनीतिक दलहरुले केही दिन अघि बनेपामा प्रदर्शन गर्दै प्रादेशिक राजधानी काभ्रेपलाञ्चोकलाई बनाउन माग गरेका हुन् ।
काभ्रेपलाञ्चोकबाट निर्वाचित प्रादेशिक सांसद रत्न ढकालले संघीयताको मूल मर्म विकेन्द्रीकरण भएकामा जोड दिँदै भौतिक पूर्वाधारको व्यवस्थापन गर्न पनि सहज हुने भएकाले काभ्रेपलाञ्चोकलाई राजधानी बनाउन सकिने पर्याप्त आधार भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकार राजधानी तोक्ने विषयमा आफ्नो निर्णयबाट पछि हटेको छ । त्यसैले पहिलो प्रदेशसभाको बैठकले नै ठोस निष्कर्ष निकाल्ने छ ।”
काभ्रेपलाञ्चोकबाट निर्वाचित प्रादेशिक सांसद लक्ष्मण लम्सालले काभ्रेपलाञ्चोकबाहेक अन्य जिल्ला प्रादेशिक राजधानी हुन्छ भन्ने भ्रमको पछि नलाग्न अनुरोध गर्दै राजधानी बनाउन यहाँ प्रशस्त आधार रहेको दाबी गर्नुभयो ।
उहाँले आइटी पार्क, भकुण्डे, पाँचखाल जस्ता फराकिलो स्थान यस जिल्लामा रहेको र तत्काल प्रशासनिक कार्य सञ्चालनका लागि भौतिक संरचना पनि विद्यमान रहेको बताउनुभयो । -युवराज पाण्डे RSS