शीतलहर प्रभावित जिल्लामा राहत घोषणा

Spread the love

काठमाडौँ, सरकारले तराईका २२ जिल्लामा केही दिनदेखि बढेको चिसोको मारमा परेका सर्वसाधारणलाई रु दुई करोड २२ लाख बराबरको राहत वितरण गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा आज गृह मन्त्रालयले उक्त निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । गृह मन्त्रालयले तराईका २२ जिल्लामा प्रत्येक जिल्लामा रु १० लाख बराबरको कम्बल, दाउरालगायत न्यानो सामग्री वितरण गर्ने निर्णय गरेको हो ।

मन्त्रालयले आजै सरकारको मौज्दातमा रहेका कम्बललगायत सामग्री पनि तत्काल उक्त जिल्लामा पठाउने तयारी गरेको छ । “प्रधानमन्त्रीको निर्देशनमा शीतलहर प्रभावित जिल्लामा तत्काल उक्त राहत वितरण गर्ने निर्णय भएको छ”–गृहसचिव मोहनकृष्ण सापकोटाले भन्नुभयो, “राहत वितरणको कार्य आजैदेखि शुरु हुन्छ, केन्द्रबाट कम्बललगायत सामग्री जाने क्रम शुरु भइसकेको छ ।”

मन्त्रालयले जिल्लास्थित स्थानीय विपद् व्यवस्थापन समितिको सिफारिशमा उक्त राहत वितरण गर्न निर्देशनसमेत दिएको छ । मन्त्रालयले तत्काल केन्द्रीय दैवीप्रकोप उद्धार कोषबाट उक्त रकम वितरण गर्ने भएको हो ।

मन्त्रालयले काठमाडौँस्थित मानवीय सहायता कक्ष र सशस्त्र प्रहरी बलको मौज्दातमा रहेका न्यानो कपडा वितरण पनि आजैदेखि शुरु भएको जनाएको छ । मन्त्रालयले तराईमा विद्यालयललगायत सार्वजनिक भवनमा बालबालिका र ज्येष्ठ नागरिकलाई न्यानोमा राख्न अस्थायी सेल्टर पनि खडा गर्न सम्बन्धित जिल्लालाई निर्देशन दिएको छ ।RSS


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *