काठमाडौँ, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीले प्रधानन्यायाधीशको राजीनामाको माग गर्दै आजदेखि आफ्नो १४ औँ अनशन शुरु गर्नुभएको छ ।
अस्पतालमा पत्रकार सम्मेलन गरी प्रा डा केसीले सर्वोच्च अदालतले आइतबार आइओएमको चार वर्षअघिका डीन प्रा डा शशि शर्माको पुनःबहाली गर्न गरेको फैसला न्यायसंगत नभएको जनाउँदै प्रधानन्यायाधीशको राजीनामाको माग गरी अनिश्चितकालीन आमरण अनशनमा बस्नुभएको हो ।
उहाँले भन्नुभयो,‘‘ चार वर्षपछि आएओएमको डीन पदमा बर्खास्त व्यक्तिलाई फर्काइनुका पछाडि भागबण्डाले धराशायी भएको आइओएमलाई पुन धराशायी र मनपरी रुपमा मेडिकल कलेजलाई सम्बन्धन दिने नियत लुकेकाले सो फैसला हामीलाई कदापि मान्य छैन ।’’
प्रा डा केसीले विधिवत् रुपमा वरिष्ठताका आधारमा नियुक्त भएका डीन नै अहिले पनि वास्तविक डीन भएको बताउनुभयो ।
आइओएमका डीनबाट बर्खास्तमा पर्नुभएका प्रा डा शर्मालाई त्रिवि कार्यकारी परिषद्को २०७० पुस २५ गते बसेको बैठकले सोही साल पुस २८ गतेदेखि लागु हुने गरी चार वर्षका लागि अर्थात् यही पुस २७ सम्म पदावधि रहने गरी डिन नियुक्त गरेको थियो ।
परिषद्कै २०७० पुस २९ गते बसेको बैठकले प्रा डा शर्माको नियुक्ति बदर गरी प्रा डा राकेशप्रसाद श्रीवास्तवलाई नियुक्त गरेपछि शर्मा न्यायका लागि २०७० फागुन १ गते सर्वोच्च अदालत जानुभएको थियो । प्रा डा शर्माको नियुक्तिलाई बदर गरिएपछि वरिष्ठताका आधारमा प्रा डा श्रीवास्तवलाई डीन नियुक्त गरिएको थियो । प्रा डा श्रीवास्तवले राजीनामा दिएपछि हाल प्रा डा जगदीशप्रसाद अग्रवाल डीनका रुपमा रहनुभएको छ ।
प्रधान्यायाधीश गोपाल पराजुली र न्यायाधीश दीपककुमार कार्कीको संयुक्त इजलासले आइतबार चार वर्षपछि चार दिनका लागि प्रा डा शर्मालाई पुनःबहाली गर्न आदेश दिएको थियो ।
प्रा डा केसी प्रधानन्यायाधीशको राजीनामा, चिकित्सा शिक्षा आयोगको तत्काल गठन र आइओएमका डीन पुनःबहाली खारेज माग गर्दै विधिवत् रुपमा वरिष्ठताका आधारमा नियुक्त डीनको निरन्तरतालगायत सातबुँदे मागका साथ त्रिवि शिक्षण अस्पतालमा आमरण अनशन बस्नुभएको छ ।
पुनःबहाली हुनुभएका डीन प्रा डा शर्माले आफूले चार वर्षपछि न्याय पाएको जनाउँदै वरिष्ठताका आधारमा पनि आफू नै वरिष्ठ भएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो,‘‘ मैले चार वर्षपछि न्याय पाएको छु, चार दिनका लागि भए पनि म नै अहिले आइओएमको डीन हुँ ।’’ RSS