पराजयलाई आगामी चुनावसम्ममा विजयमा परिणत गर्न कांग्रेसको जिल्ला दौडाहा सुरु

Spread the love

तेह्रथुम । चुनावमा अप्रत्यासित नतिजा भोग्नुपरेको भन्दै नेपाली कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सुदृढीकरणका लागि जिल्ला दौडाहा सुरु गरेका छन् । जिल्ला सभापतिहरूले पार्टी नेतृत्वको चरम लापरबाही बढ्दै जाँदा पार्टीको संगठन र कार्यकर्तासमेत विचलित भएकाले संगठन सुदृढीकरणका लागि जिल्ला–जिल्ला पुगेर साझा धारणा बनाउन लागेका हुन् ।

पार्टीमा नीति र सिद्धान्तभन्दा बढी नेता हाबी भएको भन्दै उनीहरूले अब नेतृत्व भन्दामाथि नीति र सिद्धान्त हुनुपर्नेमा जोड दिएका छन् । पार्टीको संगठन सुदृढीकरण र अहिलेको पराजयलाई आगामी चुनावसम्ममा विजयमा परिणत गर्न पार्टीको नेतृत्व सच्चिएर फरक कार्यशैलीमा काम थालिनुपर्ने उनीहरूको भनाइ छ ।

पूर्वको ताप्लेजुङदेखि पश्चिमको रोल्पासम्मका सात जिल्ला सभापतिले सबै जिल्ला सभापतिको साझा धारणा बनाई पार्टीलाई सुदृढीकरणका लागि अभियान थालेका हुन् । शनिबार तेह्रथुमको म्याङलुङ्ग आइपुगेको सभापतिहरूको टोलीले पार्टी सभापतिको राष्ट्रिय भेलाको तयारी भइरहेको र सो भन्दा अगावै धेरै जिल्लामा पुगेर त्यहाँको अवस्था र अनुभव साटासाट गरेर अघि बढ्ने बताइएको छ ।

टोलीमा ताप्लेजुङ सभापति लीला बोखिम, पाँचथर सभापति नरेन्द्रकुमार केरुङ, रोल्पा सभापति अमरसिंह पुन, प्युठान सभापति अमरप्रसाद भण्डारी, गुल्मी सभापति भुवनप्रसाद श्रेष्ठ, तेह्रथुम सभापति गोविन्द ढुंगाना र संखुवासभाका सभापति दिपनकुमार श्रेष्ठ छन् । इलाम, ताप्लेजुङ हुँदै पाँचथरबाट तेह्रथुम आइपुगेको टोली शनिबारै संखुवासभा पुगेको छ ।

पार्टीमा नीतिभन्दा नेतृत्व हाबी भएकाले चुनावमा पराजय भोग्नुपरेको सिँचाइ राज्यमन्त्री समेत रहेका रोल्पा सभापति अमरसिंह पुनले बताए। राज्यमन्त्री पुनले देश संघीयतामा जाँदै गर्दा पार्टी केन्द्रीय समितिले जिल्ला कार्यसमितिको अधिकार खोसेर पार्टीको जिल्ला र स्थानीय तहका संगठनलाई अपहेलना गरेको आरोपसमेत लगाए। गुल्मी सभापति भुवनप्रसाद श्रेष्ठ र प्यूठान सभापति अमर भण्डारीले पनि पार्टीभित्र पराजयको कारण खोजिनुपर्ने धारणा राखे । रासस


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *