काठमाडौं – प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा पद प्रचण्डलाई दिने पूर्वसहमतिबाट एमाले अध्यक्ष केपी ओली ‘ब्याक’ भएको माओवादी नेताहरुले बताएका छन् ।
पार्टी र सरकारको नेतृत्व एउटै व्यक्तिमा अन्तरनिहीत हुनुपर्छ भन्ने एमाले महासचिव ईश्वर पोखरेलकै लाइनमा ओली उभिएपछि माओवादी नेता झस्किएका छन् ।
एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष प्रचण्डबीच माघ दोस्रो साता वान टु वान वार्ता भएको थियो । लगतै ओली निबास बालकोटमा बसेको पार्टी एकता संयोजन समितिको बैठकमा दुबै नेताले आफूहरुबीच अनौपचारिक छलफल आवश्यक भएको सुनाए ।
‘केपी ओलीजीले महाधिवेशनपछि मात्रै अध्यक्ष पद हस्तान्तरण गर्छु भन्नुभयो, प्रधानमन्त्री पनि आफैं चलाउँछु भन्नुभयो’ दुई पार्टीवीचको एकता प्रक्रियामा सहभागी हुँदै आएका एक माओवादी नेताले भने, ‘ओलीजीले मुलुक र पार्टीलाई एउटा दिशानिर्देश गरिसकेपछि मात्रै अध्यक्षको जिम्मेवारी हस्तान्तरण गर्ने ईच्छा प्रकट गर्नुभएको छ ।’
ओलीले जबजको लाइनमा पनि अडान यथावत राख्ने बताएपछि आफूहरु आश्चर्यमा परेको एक माओवादी नेताले बताए ।
एकजना प्रधानमन्त्री, अर्को अध्यक्ष बन्नोस्: राष्ट्रपतियसैवीच भारतीय विदेशमन्त्री सुष्मा स्वराज दिल्ली फर्किएको भोलिपल्ट राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवासमा केपी ओली र प्रचण्डसँग ‘लञ्च’ सहित छलफल गरिन् ।आइतबारको यो छलफलमा राष्ट्रपति भण्डारीले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद बाँडफाँट गरेर भए पनि मिल्न प्रचण्ड र ओलीलाई आग्रह गरेकी थिइन् । तर, ओलीले यो प्रस्ताव अस्वीकार गरेको माओवादी स्रोतले जानकारी दिएको छ ।
माओवादी स्रोतले भन्यो, ‘राष्ट्रपति पनि प्रचण्डलाई पार्टी अध्यक्ष दिएर भए पनि वाम एकता गर्नुपर्यो भन्ने लाइनमा देखिनुभयो । तर ओलीजी आगामी महाधिवेशनबाट मात्रै जिम्मेवारी हस्तान्तरण गन तयार देखिनुभयो ।’
स्रोतका अनुसार एमाले अध्यक्ष ओली प्रचण्डलाई सहअध्यक्षमा मनाउन प्रयासरत छन् । एमाले र माओवादीले प्रदेश र प्रतिनिधिसभाको टिकट भागवण्डा गर्दा ६० ४० को मापदण्ड लगाएका थिए । चुनावी परीणाममा झण्डै ७० ३० देखिएको छ ।
चुनावी मत अनुसार पनि प्रचण्डलाई पार्टी अध्यक्ष दिन नहुने मत एमालेमा देखिएको छ ।माओवादी नेताहरुले चाहिँ अध्यक्ष र प्रधानमन्त्रीबारे यसअघि नै सहमति भइसकेको र एमालेले प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एउटा रोज्नुपर्ने अडान लिइरहेका छन् । प्रधानमन्त्री र पार्टी अध्यक्ष पदमा केपी ओली र प्रचण्डले भागवण्डाको सहमति गर्नुबाहेक अर्को विकल्प नरहेको माओवादीको तर्क छ ।
एमालेभित्र प्रचण्डलाई सहअध्यक्ष बनाउने वा प्रचण्डलाई अध्यक्ष बनाएर केपी ओलीलाई सर्वोच्च नेता बनाउने वा माधव नेपाल र प्रचण्ड दुबैलाई अध्यक्ष बनाउने विकल्पका विषयमा समेत कुराकानी भइरहेको स्रोतले बतायो ।चुनावअघि प्रचण्डलाई पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एउटा पद दिन्छु भनेर फकाएको तर, चुनावपछि अध्यक्ष बनाउन अन्कनाउँदा पार्टी एकता अनिश्चित बनेको माओवादी नेताको गुनासो छ ।
