काठमाडौँ-सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्न आवश्यक गृहकार्य सरकारले शुरु गरे पनि त्यसले गति लिन सकेको छैन ।
सगरमाथाको उचाइ नाप्न भूमि सुधार तथा व्यवस्था मन्त्रालय, नापी विभागले स्थलगत रुपमा प्रारम्भिक चरणको काम शुरु गरे पनि प्राविधिक कारणवश त्यसले गति लिन नसकेको स्वयं विभागकै अधिकारीहरू स्वीकार्छन् ।
विश्वको सर्वोच्च शिखरका रुपमा रहेको सगरमाथाको उचाइको आधिकारिकताबारे विभिन्न चर्चा र टीकाटिप्पणी हुनु, हालसम्म नेपालले सगरमाथाको उचाइ मापन नगर्नु, चीन, भारतलगायतका मुलुकले गरेको मापन अन्तरराष्ट्रियरुपमा विवादित बन्नु, विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’ को प्रभावलगायतका कारण सगरमाथाको उचाइ र अवस्थिति पत्ता लगाउन आवश्यक ठानेर विभागले मापनको गृहकार्य अघि बढाएको हो ।
मापन कार्य शुरु गर्नुपूर्व विभागले गत मंसिर २५ र २६ गते भारत, चीन, अमेरिका, इटलीलगायत देशका वैज्ञानिकलाई अन्तरराष्ट्रिय गोष्ठीमा डाकेर कसरी मापन गर्ने भन्ने विषयमा छलफल गरेको थियो र विज्ञहरूकै सुझावका आधारमा कार्यविधि तयार ग¥यो ।
उक्त छलफलमा त्यसबखत सगरमाथाको उचाइ मापन गर्ने टोलीमा सहभागी हुनुभएका अमेरिकास्थित कोलोराडो युनिभर्सिटीका प्राध्यापक रोजार विह्याम, सर्वे अफ इन्डियाका प्रमुखलगायतले नेपालले नै सगरमाथाको उचाइ नाप्नु खुशीको विषय भएको बताउँदै आवश्यक प्राविधिक सहयोग गर्न आफूहरू तयार रहेको वचन दिएको सगरमाथा उचाइ मापन सचिवालयका संयोजक एवं विभागका प्रमुख नापी अधिकृत सुशील डंगोलले राससलाई बताउनुभयो ।
नेपालले पहिलो पटक गर्न लागेको सगरमाथाको उचाइ मापनमा विवाद नआओस् र त्यो सर्वस्वीकार्य होस् भनेर विश्वकै दक्ष विज्ञहरूलाई सहभागी गराइएको विभागको भनाइ छ ।
यसअघि सन् १९५४ मा तत्कालीन सर्वे अफ इन्डियाले सगरमाथाको उचाइ मापन गरी आठ हजार ८४८ मिटर भएको निष्कर्ष निकालेको थियो । त्यसपछि विभिन्न समयमा विभिन्न निकायले उचाइ मापन गरी फरकफरक उचाइ निकालेका थिए । तर त्यसले आधिकारिक मान्यता भने पाएको थिएन । अहिले सबै पूर्वतयारी सकिएकाले मापनको कार्य अघि बढाएको विभागले जनाएको छ ।
विभागका अनुसार गत कात्तिक ७ गते सोलुखुम्बु पुगेर नेपाली टोलीले भारतीय सर्वेक्षकले त्यस बखत सगरमाथाको उचाइ नाप्न प्रयोग गरेको नियन्त्रण बिन्दु खोज्ने काम गरेको थियो । सोलुखुम्बुको आठ, खोटाङ र दोलखामा दुई÷दुई स्थानमा उक्त बिन्दु राखिएको बताइन्छ । टोलीले सोलुखुम्बुको चार स्थानमा राखिएको बिन्दु भेट्टाएको छ र बाँकी खोज्ने क्रम जारी छ ।
दुई वर्षभित्र काम पूरा गर्ने लक्ष्यसहित विभागले प्रारम्भिक चरणको काम शुरु गरेको विभागका प्रमुख नापी अधिकृत डंगोलको भनाइ छ ।
माघ २५ मा पहिलो टोली सिरहा जाने
विभागका अनुसार यही माघ १५ गते लेभलिङका लागि १३ सदस्यीय पहिलो टोली सिरहास्थित नेपाल–भारत सीमा मदार जाँदैछ । उक्त ठाउँसम्म लेभलिङको काम सर्वे अफ इन्डियाले गरिदिने र त्यहाँबाट नेपाली टोलीले शुरु गर्ने विभागको भनाइ छ ।
विभागका अनुसार यस आर्थिक वर्षभित्र सिरहादेखि ओखलढुंगासम्म लेभलिङको काम सक्ने विभागको तयारी छ । टोलीले दैनिक ७०० देखि ७५० मिटरसम्म लेभलिङ गर्नेछ ।
नेपालमा नापी विभागसँग ६० वर्षको अनुभव छ र नयाँ प्रविधिका विषयमा समेत यसका जनशक्ति दक्ष भइसकेकाले उचाइ मापन दुई वर्षभित्र पूरा हुने विश्वास विभागको छ ।
ओखलढुंगा सदरमुकाम जोड्ने सडक हुँदै सोलुखुम्बुको सल्लेरीदेखि उदयपुरको बाँसबारीसम्म अहिले लेभलिङको काम भइरहेको छ । वैशाख १२ को भूकम्पका कारण सडकको लेभलिङमा असर पुगेको÷नपुगेको यकिन गरी त्यसलाई प्रमाणित गर्ने काम भइरहेको छ । -रासस