झापा- नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नयाँ सरकार बनाउन काँग्रेसले मार्ग प्रशस्त गरेको दाबी गर्नुभएको छ । काँग्रेसले मार्ग प्रशस्त गरेकै कारण नयाँ सरकार आउने क्रममा रहेको उहाँको भनाई छ ।
झापाको बिर्तामोडमा बिहीबार प्रेस युनियन झापाले आयोजना गरेको साक्षात्कारमा नेता शर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिने भन्दा पनि नयाँ सरकारलाई मार्ग प्रशस्त गरिरहेको जिकिर गर्नुभयो । राष्ट्रिय सभासम्बन्धि विधेयक जारी गराउनु, प्रदेश प्रमुखको नियुक्ति गर्नु, प्रदेशको अस्थायी कार्यस्थल तोक्नु र राष्ट्रिय सभाको निर्वाचन गराउनु जस्ता कार्य नयाँ सरकारका लागि मार्ग प्रशस्त भएको उहाँको दाबी थियो ।
प्रवक्ता शर्माले अहिलेको अवस्थामा काँग्रेस आफु रुपान्तरण हुनुपर्ने र संविधान कार्यान्वयन गर्न जिम्मेवारी ढंगले लाग्नुपर्ने सन्दर्भमा गम्भीर रहेको बताउनुभयो । उहाँले अबको काँग्रेस बदल्न आफुहरु लागेको भन्दै अब बदलिन नचाहनेहरुले नेतृत्वबाट बिदा लिने बताउनुभयो ।