महोत्तरी- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा वामपन्थीहरुबीचको एकता भाँडन बिभिन्न तत्वहरुले षडयन्त्र गरिरहेको बताएका छन् ।
महोत्तरीको हात्तीनेटमा आयोजित बृहत जनसभा तथा प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता र गठबन्धनको प्रक्रिया शुरु भएदेखि पार्टी एकता हुन नदिन षडयन्त्र भइरहेको बताए ।
“नेपालमा ७० वर्षदेखि कहिल्यै राजनीतिक स्थिरता भएन, कुनै पनि सरकार पाँच वर्ष टिकेन । त्यसैले सुशासन, समृद्धि र समाजवादी नेपालको लागि कम्युनिष्ट शक्तिबीच एकता र वाम गठबन्धन जरुरी छ भनेर मैले नै प्रस्ताव अगाडि बढाएँ ।”
अध्यक्ष दाहालले भने, “जनताको चाहना पनि यही भएकोले अहिले झण्डै दुई तिहाई बहुमत वामपन्थीहरुको आएको छ । तर वाम एकता नहोस् र नेपाली जनताले विकास निर्माण र समृद्धिको यात्रा प्राप्त गर्न नसकून भनेर देशी विदेशी प्रतिक्रियावादी लागि परेका छन् ।”
प्रदेश र संघको निर्वाचनमा वाम गठबन्धनको झण्डै दुई तिहाई बहुमत आएपछि एमाले र माओवादी केन्द्रलाई प्रलोभन र धम्की दिएर एकता भाँडने षडयन्त्र भएको अध्यक्षले बताए ।
उनले भने, “निर्वाचनमा दुई तिहाई आएपछि कहिले माओवादीलाई, कहिले एमालेलाई प्रलोभन र कहिले धम्की दिएर गठबन्धन टुटाउने षडयन्त्र भइरहेको छ ।”
दाहालले इतिहासको निर्माण गर्न एक दुई जना नेताको मात्रै भर पर्न नसकिने बताउँदै सिँगो पार्टीका नेता र कार्यकर्ता चनाखो हुनुपर्नेसमेत बताए ।
“सबैमा अपील गर्न चाहन्छु, तपाईँहरु सतर्क रहनुहोला, सावधान रहनुहोला, ताकि षडयन्त्रकारीको षडयन्त्रमा कोही नफसौं,” दाहालले भने, “हामीले जुन ऐतिहासिक मिसन गरेका छौं, शहीद र अग्रजले देखेका सपना पुरा गर्ने जुन महान अभियानको शुरुआत भएको छ, त्यसलाई बीच बाटोमा नै तुहाउने षडयन्त्र भइरहेको छ । प्रक्रिया अवरुद्ध पार्ने षडयन्त्र भएको छ । तपाईहरु सतर्क बस्नुहोला ।”