स्वास्थ्य शिविरबाट एघार सय लाभान्वित

Spread the love

बाबियाचौर, म्याग्दी,  समाज कल्याण परिषद्अन्तर्गतको राष्ट्रिय स्वास्थ्य कोषको आयोजनामा म्याग्दीमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण तथा विशेषज्ञ शिविरबाट एक हजार जनाभन्दा बढी सर्वसाधारण लाभान्वित भएका छन् ।

मालिका गाउँपालिकाको केन्द्र दरवाङमा बिहीबार, अन्नपूर्णको पोखरेबगरमा शुक्रबार र बेनी अस्पतालमा शनिबार सञ्चालन भएको शिविरबाट एक हजार १०० जनाले सेवा लिएका आयोजकले जनाएका छन् ।

दरवाङमा ३९५, पोखरेबगरमा ४०० र बेनीमा ३०० जनाले सेवा लिएका कोषका अध्यक्ष हुमबहादुर बरुवालले जानकारी दिनुभयो । स्त्रीरोग विशेषज्ञ डाक्टर सरिता गुरुङ, बालरोग विशेषज्ञ डा नवराज सुवेदी र जनरल डाक्टर रुपेश श्रेष्ठसहित स्थानीय स्वास्थ्यकर्मीले सेवा दिनुभएको थियो ।

स्वास्थ्य परीक्षण, परामर्श र निःशुल्क औषधि वितरण सेवा उपलब्ध गराइएको अध्यक्ष बरुवालले बताउनुभयो । दुर्गम ग्रामीण क्षेत्रका सर्वसाधारणलाई स्थानीयस्तरमा सहज र सर्वसुलभरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ ।

तीनवटै शिविरको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले उद्घाटन गर्नुभएको थियो । सो क्रममा मन्त्री थापाले दुर्गम र विकट क्षेत्रका गर्भवती, सुत्केरी र नवजात शिशुको उपचार सेवामा पहुँच बढाएर मातृशिशु मृत्युदर घटाउन सरकारले ‘एयर एम्बुलेन्स’ सञ्चालन गर्न लागेको जानकारी दिनुभयो ।

मन्त्री थापाले स्थानीय तहका जनप्रतिनिधि, अगुवा र नेकपाका नेता, कार्यकर्तासँग भेटघाट गरेर विकास निर्माण, स्थानीय तहका गतिविधि, समस्या र सहकार्य गर्न सकिने विषयमा छलफल गर्नुभएको थियो । (रासस)


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *