जोखिमलाई सम्बोधन गर्न कार्यसञ्चालन केन्द्र सक्रिय बनाएको छ ।

Spread the love

काठमाडौँ, मनसुन सक्रिय भएसँगै प्राकृतिक प्रकोप बाढी, पहिरोको जोखिमलाई ध्यान दिँदै नेपाल रेडक्रस सोसाइटीले आफ्नो आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सक्रिय बनाएको छ ।

प्राकृतिक विपद्का प्रभावितलाई आपत्कालीन आवास, प्राथमिक उपचार, स्वास्थ्य र सरसफाइ, खानेपानीलगायतका क्षेत्रमा केन्द्रले सहयोग गर्नेछ ।

सोसाइटीका उपमहामन्त्री हरि न्यौपानेले मानवीय सेवाको सर्वाेच्च निकाय रेडक्रस आफ्नो उद्देश्यअनुसार रेडक्रसकर्मी प्राकृतिक विपद्मा परेकालाई मानवीय सेवामा जुटिरहेको जानकारी दिनुभयो ।

उहाँका अनुसार सातवटै प्रदेशमा प्राकृतिक विपद्मा परेको अवस्था, राहत, पुनःस्थापनाका अवस्थाको प्रतिवेदन लिने, तत्काल विपद्पीडितलाई आवश्यक मानवीय सहयोगका सबै सामग्रीसहित स्वयंसेवक परिचालन गर्ने व्यवस्था केन्द्रले मिलाएको छ ।

आवास, स्वास्थ्य, सरसफाइ, प्राथमिक उपचार, स्वयंसेवक परिचालन, सूचना तथा अन्तर्राष्ट्रिय सहयोग, समन्वय, अनुगमनलगायतका क्षेत्रमा सातवटै प्रदेशमा १९ कार्यसमूह सक्रिय रहेका छन् ।

बाढी पहिरोलगायत अन्य विपद् प्रभावित परिवारलाई तत्काल सहयोग गर्न १० हजार सेट सामग्री तथा ६ सय आपत्कालीन आवास सेट आफ्ना गोदामघरमा तयारी अवस्थामा राखेको छ ।

सोसाइटीका मानवीय सेवा तथा सञ्चार विभागका प्रमुख दीव्यराज पौडेलले पहिलोचरणमा नेपाल रेडक्रसले २१ हजार परिवारका लागि मानवीय सेवाका ती क्षेत्रमा सहयोग गर्नेगरी आपत्कालीन सहयोग योजना सार्वजनिक गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार १० हजार परिवारका लागि आफ्नै स्रोत र बाँकी रेडक्रसको अभियान लगायत सहयोगी संस्थाबाट सहयोग जुटाईनेछ । बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट आउनसक्ने क्षतिलाई न्यूनीकरण गर्न र तत्काल सहयोग गर्न सोसाइटीले आफ्ना जिल्ला शाखालाई तयारी अवस्थामा रहन आह्वानसमेत गरेको छ ।

तराई मधेशका केही जिल्लामा वर्षाका कारण डुबानमा परेका परिवारलाई उद्धार तथा राहत वितरण कार्य जारी रहेको पनि सोसाइटीले जनाएको छ ।

तत्काल मानवीय सहयोग आवश्यकता परेका वा जानकारी लिन परेका सोसाइटीले निःशुल्क टेलिफोन नं ११३० मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाएको सञ्चार विभाग प्रमुख पौडेलले जानकारी दिनुभयो ।

यसैबीच, आपत्कालीन कार्यसञ्चालन केन्द्रको मंगलबार बसेको बैठकले प्राकृतिक विपद्पीडितको खोज, उद्धार तथा राहतमा मानवीय सेवा तथा बाढी पहिरोको पूर्व जानकारी समुदायलाई दिन आफ्ना स्वयंसेवकलगायत स्रोतसाधन परिचालन गर्ने निर्णय गरेको छ ।

विगतका वर्षमा तराई मधेशका जिल्लामा आएको बाढी, डुबान पीडितलाई सोसाइटीले गरेको मानवीय सहयोग तथा विसं २०७२ वैशाख महिनामा गएको विनाशकारी भूकम्पपछि खोज, उद्धार तथा राहत वितरण कार्यको अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रशंसा भएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *