बाबियाचौर, म्याग्दी, अल्पसंख्यक छन्त्याल समुदायको सांस्कृतिक पहिचानको संरक्षण गरी पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडाखानीका बासिन्दाले छन्त्याल संग्रहालय स्थापनाका लागि भवन निर्माण गरेका छन् ।
स्थानीयवासी, प्रवासी नेपाली र गाउँपालिकाको सहयोगमा रु ४० लाख भन्दा बढीको लागतमा सभाहलसहितको दुई तले तीन कोठे सामुदायिक भवन निर्माण गरिएको हो । भूइँतलामा सभाहल, भान्छाकोठा, डाइनिङ हल तथा माथिल्लो तलाको एउटा कोठामा संग्रहालय र अर्कोमा पाहुना घर सञ्चालन गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष दलमान छन्त्यालले बताउनुभयो ।
अध्यक्ष छन्त्यालका अनुसार उक्त भवन निर्माणका लागि गाउँपालिकाले चालु आवमा रु सात लाख ७०० उपलब्ध गराएको युवा क्लब, आमा समूह, स्थानीयवासी र प्रवासीबाट रु ३३ लाख लगानी भएको छ । पक्की भवन निर्माणका लागि हालसम्म रु ४० लाख खर्च भएको उपभोक्ता समितिले जनाएको छ ।
सो भवनमा छन्त्याल समुदायको दैनिक जीवनयापनमा प्रयोग हुने परम्परागत सामग्री, जातीय पहिचान झल्कने वेषभूषा, जन्म, विवाह, छेवार, किरिया जस्ता संस्कारगत कार्यमा प्रयोग हुने सामान, ऐतिहासिक लिपी आदि सामग्री संकलन गरेर संग्रहालय सञ्चालन गर्ने तयारी भएको वडा सदस्य टेकजित छन्त्यालले बताउनुभयो ।