डा. केसीसँग वार्ता अघि बढेन, स्वास्थ्य बिग्रिए पनि उपचार गर्न अस्वीकार !

Spread the love

५ साउन, काठमाडौं । २२ दिनदेखि अनशनरत डा. गोविन्द केसीसँग सरकारले वार्ता गर्ने बताए पनि अघि बढ्न सकेको छैन ।

केसीलाई अनशनकै अवस्थामा सरकारले बिहीबार जुम्लाबाट जबर्जस्ती काठमाडौं ल्याएको थियो । केसीको स्वास्थ्य अवस्था एकपछि अर्को बिग्रँदै गइरहेका बेला वार्ताको ठोस प्रयास भने हुन सकिरहेको छैन । दुवै पक्षले एक–अर्काका कारण संवाद अघि नबढेको आरोप लगाएका छन् ।

 

सरकारसँग संवाद गर्न डा. केसी पक्षले बनाएको वार्ता टोलीका संयोजक डा. अभिषेकराज सिंहले सरकारी पक्षबाट वार्ताका लागि कुनै प्रयास नभएको बताए । उनले सरकार पक्षले फोनसमेत उठाउन छाडेको गुनासो गरे । ‘सरकारले वार्ताका लागि कुनै प्रयास गरेको छैन’, सिंहले अनलाइनखबरसँग भने, ‘बरु हामीले सम्पर्क स्थापितका लागि गरेकाे फोनसमेत नउठाएर उहाँहरु सम्पर्कविहीन हुनुभएको छ ।’

शिक्षा सचिव खगराज बराल भने वार्ताका लागि सरकारले देखाएको तत्परता केसी पक्षको अडानका कारण प्रभावित भएको बताउँछन् । उनका अनुसार विधेयक फिर्ता नभई वार्तामा नबस्ने केसी पक्षको अडानका कारण संवादहीनताको अवस्था सिर्जना भएको हो ।

‘हाम्रो कारण वार्ता अघि बढ्न नसकेको होइन,’ सचिव बरालले अनलाइनखबरसँग भने, ‘विधेयक फिर्ता नभई वार्ता नगर्ने अडान केसी पक्षले लिएकाले समस्या आएको हो ।’

विधेयक फिर्ता लिने या नलिने भन्ने विषय संसद्को मामला भएकाले यसमा सरकारी वार्ता टोलीले केही गर्न नसक्ने उनले स्पष्ट पारे । बरालले अगाडि थपे, ‘उहाँहरुले विधेयक फिर्ता लिएपछि मात्रै वार्तामा बस्छौं भन्नु भएको छ । विधेयक फिर्ता लिने विषय संसदसँग सम्बन्धित भएकाले यसमा हामी केही गर्न सक्दैनौं ।’

उपचार गर्न मानेनन्

यसैबीच, डा. केसीले उपचार गर्न अस्वीकार गरेका छन् । बिहीबार जुम्लामा सरकारले ज्यादति गरेको भन्दै उनले आफ्नो स्वास्थ्य जाँच गर्न अस्वीकार गरेका हुन् ।

केसीका प्रतिनिधि डा. अभिषेकराज सिंहले ब्लड प्रेसर, मुटुको चाल नाप्नसमेत नदिएको बताए । ‘केसीले सामान्य जाँचसमेत गर्न दिनुभएको छैन’, सिंहले भने, ‘उहाँको अवस्था थप कमजोर बन्दै गएको छ ।’


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *