नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा १७ वटा जहाज पुर्याउने योजनासहित पाँचवर्षे कार्ययोजना तयार पारेको छ । निगम कार्यकारी समितिले मंगलबार नेपाल एयरलाइन्समा ५ वर्षभित्र १० न्यारोबडी ए ३२०–२०० र ७ वाइडबडी ए ३३०–२०० जहाज पुर्याउने निर्णय गरेको हो ।
यो योजना निगम सञ्चालक समितिबाट स्वीकृत गराएपछि कार्यान्वयनमा जाने निगममा महाप्रबन्धक सुगतरत्न कंसाकारले बताए । अहिले निगमसँग एक बोइङ ७५७, दुई न्यारोबडी ए ३२०–२०० र दुई वाइडबडी ए ३३०–२०० विमान छन् । करिब तीन दशक पुरानो बोइङ भने निगमले बेच्ने प्रक्रिया थालेको छ । अबको पाँच वर्षभित्र थप आठ न्यारोबडी र पाँच वाइडबडी जहाज किन्ने निगमको योजना छ । ‘दुई वाइडबडी जहाज भित्रनु निगमको रणनीति परिवर्तनको पहिलो पाइला हो,’ महाप्रबन्धक कंसाकारले भने, ‘अब आक्रामक रुपमा अगाडी बढ्नुको विकल्प छैन ।’
तीन अन्तरराष्ट्रिय विमानस्थलबाट नयाँ/नयाँ गन्तब्यमा उडाउने
निगमको योजनाअनुसार जहाज थपिदै जाँदा त्यतिन्जेल मुलुकमा तीन अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आइसक्नेछन् । अहिले काठमाडौंस्थित त्रिभुवन विमानस्थलबाट मात्र अन्तरराष्ट्रिय उडान भइरहेको छ । सन् २०२१ पछि पोखरा र भैरहवाबाट पनि अन्तरराष्ट्रिय उडान हुनेछ । त्यस अवस्थामा नयाँ नयाँ गन्तब्य खोज्दै जहाज उडाउँदा निगमले बजार र व्यापारको चिन्ता गर्नुपर्ने अवस्था नरहेको निष्कर्ष व्यवस्थापनको छ ।
जम्बो जहाजको पहिलो व्यवसायीक उडान दोहा
निगमले १४ असारमा भित्र्याएको पहिलो वाइडबडी जहाजले बुधबारबाट व्यवसायीक उडान थाल्दैछ । २७४ सीट क्षमताको यो जहाज बुधबार राती १० बजे कतारको दोहाका लागि उड्नेछ । मंगलबार साँझसम्म काठमाडौंबाट दोहाका लागि २२५ सीट बुक भइसकेको र दोहाबाट काठमाडौं फर्कन २५० सीट बुक भइसकेको निगमले जानकारी दिएको छ । यस गन्तब्यमा निगमले दैनिक उडान शुरु गरेको छ । निगमले शुरुमा पुरानै गन्तब्यमा यी जहाज उडाउने र दशैं–तिहारसम्म जापान र कोरियामा उडान शुरु गरिसक्ने महाप्रवन्धक कंसकारले जानकारी दिए । उनका अनुसार साउदी अरेवीयामा भने दशैं अगाडी नै उडान शुरु हुनेछ ।
आन्तरिक विमान २० पुर्याइने
आन्तरिक उडानतर्फ भने ५ वर्षभित्र विमान संख्या २० पुर्याउने निगमको योजना छ । यस अवधिमा निगमले १० ट्विनअटर (१९ सिट क्षमता) र ७० सिटमाथिका ४ नयाँ विमान किन्नेछ । निगमसँग अहिले ६ वटा चिनियाँ जहाज छन् । निगमले अहिले उडाइरहेका पुराना ट्विनअटर भने दुई वर्षभित्र विस्थापित गरिसक्ने योजना बनाएको महानिर्देशक कंसाकारले जानकारी दिए । दुर्गम गन्तव्यमा ट्विनअटर र सुगम गन्तव्य (ट्रंक रुट)मा ७० सिटमाथिका जहाजले सेवा दिनेछन् ।
डेढ वर्षभित्र थप १० विमान
निगमले सन् २०१९ भित्रै नेपाल ल्याइसक्ने गरी १० नयाँ जहाज खरिद प्रक्रिया अगाडि बढाइसकेको छ । त्यसमध्ये २ न्यारोबडी ए ३२०–२००, ६ ट्विनअटर र दुई एटिआर मोडलका विमान यो अवधिभित्रै ल्याउने यसअघि नै निगमले सार्वजनिक गरेको थियो ।
५ वर्षमा करिब ८० अर्ब लगानी
निगमको योजनाअनुसार जहाज किन्न पाँच वर्षमा करिब ८० अर्ब लगानी आवश्यक पर्छ । अहिलेको अन्तर्राष्ट्रिय बजार मूल्यअनुसार निगमले एक दर्जन ठूला जहाज किन्न मात्रै ७० अर्बभन्दा माथि लगानी गर्नुपर्छ । साना जहाज खरिदमा पनि १० अर्ब हाराहारी लगानी आवश्यक पर्छ । नेपाल सरकारको जमानीमा निगमका जहाज खरिद गर्न अहिले कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषले ऋण उपलब्ध गराएका छन् । आगामी दिनमा पनि यी निकायसहित अन्य आन्तरिक स्रोतबाटै रकमको जोहो गरी जहाज किन्न सकिने निगम व्यवस्थापनको विश्वास छ ।