कांग्रेसका युवा नेताहरुको सक्रियता बढ्यो, संस्थापन इतर समूहका युवाको बैठक बस्दै

Spread the love

http://nepallive.com/story/36495

काठमाडाैं– नेपाली कांग्रेसका युवा नेताहरुको सक्रियता पुनः बढेको छ। बुधबार भेला भएका युवा नेताहरुको बैठक शुक्रबार पनि बस्न लागेको छ। बैठक सिद्धार्थ कटेज तीनकुनेमा बस्ने भएको छ।

युवा नेताहरुको बैठकको लागि पहल युवा नेता गगन थापाले गरेका छन् भने बैठकको नेतृत्व नेता चन्द्र भण्डारीले गरेका छन्।

युवा नेताहरुमा उमेरको साथै निर्वाचनपछिका भेलाको संयोजन भण्डारीले गरेको हुनाले बैठकको नेतृत्व उनले गर्दै आएका छन्। बैठकमा मुख्यतयाः पौडेल पक्षका युवा नेताहरुको बाहुल्यताा छ।

शुक्रबारको बैठकका लागि प्रदीप पौडेल, रामकृष्ण यादव, कमला पन्त लगायतका नेताहरुलाई पनि बोलाइएको छ। बुधबार आधा दर्जन युवाहरुको बैठक बसेको थियो।

पुरानो बानेश्वरस्थित सिद्धार्थ कटेजमा युवा नेताहरु  भण्डारी, थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, बद्रीप्रसाद पाण्डे र जीवन परियारको बैठक बसेको थियो। पार्टीको संस्थापनइतरका युवा नेताहरु मात्रै भेला भएका हुन्।

आसन्न महासमिति बैठकमा युवाहरुको आवाज एकमत बनाउने उद्देश्यले युवाहरु एकजुट भएको बताइएको छ। २८ मंसिरबाट सुरु हुने महासमिति बैठकमा युवाहरुको तर्फबाट प्रस्तुत गरिने सांगठनिक तथा राजनीतिक प्रस्तावका विषयमा युवा नेताहरुबीच छलफल भएको थियो।

शुक्रबारको बैठक विधान र महासमिति बैठक लगायतका विषयमा विस्तृत छलफल हुने भएको छ।

विधान मस्यौदा समितिले विधानलाई अन्तिम रुप दिन सकेको छैन। पदाधिकारी, केन्द्रीय समितिको संख्या एकिन गर्न विधान मस्यौदा समितिले सकेको छैन।

समितिले पार्टीलाई विधान पेस गर्न नसकिरहेका कारण केन्द्रीय समितिको बैठक बस्न सकेको छैन। केन्द्रीय कार्य समितिको बैठकले समयमै विधान पारित गर्न नसके मंसिरको अन्त्यमा बस्ने महासमिति बैठक पनि प्रभावित हुनेछ।

महासमिति बैठकमा पेस हुने राजनीति र आर्थिक प्रतिवेदन पनि तयार हुन सकेको छैन। उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा राजनीतिक प्रतिवेदन तयार हुँदैछ भने आर्थिक प्रतिवेदन सहमहामन्त्री डा प्रकाशशरण महतको टोलीले तयार गरिरहेको छ।

आइतबार सुजाता कोइराला निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहको भेटपछि युवाहरुको सक्रियता पनि बढेको हो। शिर्ष तहका नेता बसेको बैठकमा युवा नेता गुरुराज घिमिरे पनि सहभागी भएका थिए।

शिर्ष तहका नेताको बैठकलगत्तै बसेको युवा नेताहरुको बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ। ती दुवै बैठकमा युवा नेता घिमिरे उपस्थित भएका थिए।

निर्वाचन पराजयपछि पार्टीको नेतृत्वप्रति कडा रुपमा प्रस्तुत भएका युवा नेताहरु ६ महिना सेलाएका थिए। चैत र वैशाखमा बसेको केन्द्रीय कार्य समितिको बैठकमा कांग्रेसको पुनर्जीवनका लागि युवा नेताहरुले छुट्टै प्रस्ताव बैठकमा पेस गरेका थिए।

असारको पहिलो साता हेटौंडामा बसेको जिल्ला सभापतिहरुको भेलामा पनि युवा नेताहरुले युवाहरुका तर्फबाट प्रस्ताव ल्याइएको थियो।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *