इमर्जेन्सी भएमात्र सेना परिचालन गर्नुपर्छ : प्रधान सेनापति थापा

Spread the love

काठमाडौँः प्रधान सेनापति पूर्णचन्द्र थापाले कोभिड १९ का लागि स्वास्थ्य सामाग्री खरिद् प्रक्रियाको विषयमा सैनिक मुख्यालय र विभागीय मन्त्रालयबीच कुनै मतभेद नरहेको प्रस्ट्याएका छन्। थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा सरकारबाट प्राप्त म्यान्डेट अनुसार नै प्रक्रियागत रूपमा स्वास्थ्य सामाग्री खरिद् भएको जनाएका छन्।

‘जंगी अड्डा र रक्षा मन्त्रालयको बीचमा कुनै पनि ग्याप छैन भन्ने विषयमा प्रस्ट हुन म अनुरोध गर्दछु,’ कार्यकालको दोस्रो वर्ष पूरा गरेर तेस्रो वर्ष प्रवेशका अवसरमा संचारकर्मीसँगको छलफलमा थापाले भने, ‘म एउटा कुरामा के प्रस्ट छु भने औषधि खरिद प्रक्रियामा नेपाली सेनाका अधिकृत, स्वास्थ्य मन्त्रालयबाट आउनु भएका साथीहरू र अरू मन्त्रालयबाट पनि जुन किसिमले काम भयो त्यसको अवमूल्यन गर्न हुन्न। सरकारबाट म्यान्डेट प्राप्त हुनासाथ कति मेहनत गर्यौँर हामीलाई मात्र थाहा छ।’

विश्वव्यापी कोभिड १९ को संक्रमणसँगै नेपाली सेनालाई क्वारेन्टाइन व्यवस्थापनदेखि संक्रमितको शव व्यवस्थापनसम्मको जिम्मेवारी दिइएको छ। संक्रमणको रफ्तार बढिरहेकाले कतिपय स्थानीय निकायका जनप्रतिनिधिले सेना परिचालन गर्नुपर्ने सुझाव पनि दिइरहेका छन्। प्रधान सेनापति थापाले भने कुनै पनि बेला मुलुकमा संकट भए सेना परिचालन हुनसक्ने संकेत गर्दै ‘इमर्जेन्सी भएमात्र सेना परिचालन गर्नुपर्ने’ धारणा राखे।

‘सेना परिचालन भनेको इमर्जेन्सीमा मात्र परिचालन गरिनुपर्छ, थापाले भने, ‘यदि साँच्चिकै इमर्जेन्सी आवश्यक हो भने नेपाली सेना प्रयोग हुनसक्छ। अरू अवस्थामा सहयोगी भूमिकामा नै बस्नुपर्छ भन्ने नेपाली सेनाको धारणा हो।’

जस्तोसुकै  अवस्थाका लागि पनि  सेना तयार 

सीमा सुरक्षा लगायतका विषयको प्रश्नमा प्रधान सेनापति थापाले ‘कुनै पनि अवस्थाका लागि सेना तयार’ रहेको बताए।

‘हरेक सेनाको आफ्नो संवैधानिक दायित्व हुन्छ। संवैधानिक दायित्वका कारण विषम परिस्थितिका लागि हामी तयार हुनुपर्छ’, थापाले भने’, चाहे त्यो देश ठूलो होस् वा सानो, चाहे सम्पन्न होस् वा गरिब, तयार हुनुपर्छ।’

उनले अंग्रेजसँग पनि युद्ध लडेकै हो भन्दै विगतमा थुप्रै युद्धमा सहभागी भएको सन्दर्भ उल्लेख गरे। ‘त्यतिखेर पनि हामी सानै थियौँ। सानै हुँदा पनि हामीले देशको सार्वभौमसत्ता रक्षा गरेका थियौँ। त्यस कारण नेपाली सेनाको संख्या सानो छ भन्दै राष्ट्रको रक्षा गर्न सक्दैनौँ भन्ने होइन’, प्रधान सेनापति थापाले भने।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *