काठमाडौं । यातायात व्यवसायीले असोज १ देखि लामो दूरीसहित सार्वजनिक यातायात सञ्चालन गर्ने घोषणा गरेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पदाधिकारीसहित तीन वटा मजदूर संगठनले बुधबारको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष योगेन्द्र कर्माचार्यले बताए ।
महासंघले निर्णय गरेर सहजिकरणका लागि यातायात व्यवस्था विभागका महानिर्देशकलाई पत्र बुझाएको र मन्त्रीलाई समेत पत्र बुझाउन तयारी गरेको उनले बताए ।
“६ महिनासम्म सबै बन्द गरेर बस्यौं । सरकारले केही गरेन् । हजारौं रुपैयाँ तिरेर अहिले पनि सर्वसाधारण रातो प्लेटको गाडी चढेर काठमाडौं आएका छन् । हामी अब पनि कसरी बसिरहन सक्छौं” उनले भने । ६ महिनासम्म सरकारले भने अनुसार नै गाडि बन्द गराएर राखेको तर अब राख्न नसक्ने उनले बताए ।
“असोज १ देखि सबै ठाउँमा गाडी चलाउछौं । जहाँजहाँ सरकारले रोक्छ, त्यहाँ नै प्रतिकार हुन्छ” उनले चेतावनी दिए ।
व्यवसायीले ६÷६ महिनासम्म व्यवसाय बन्द गर्दा पनि सरकारले कुनै विकल्प नदिएको बताएका छन । “६ महिनासम्म गाडी ग्यारेजमा थन्किदा पनि सरकारले विकल्प दिएन । अब थेग्न सक्ने अवस्था हाम्रो छैन । रोगले भन्दा भोकले मर्ने बेला भइसक्यो” उनले भने ।
उनले कोरोनाविरुद्ध सरकारले सार्वजनिक गरेको सबै सुरक्षाका मापदण्ड पालना गरेर गाडी चलाउने बताए । तर, त्यसका लागि सरकारले पनि व्यवसायीलाई सहजिकरण गरिदिनुपर्ने उनको भनाइ छ ।
गत चैत ११ गते लकडाउन गरिएपछि लामो दूरीका सार्वजनिक यातायात चलेका छैनन् । सरकारले मापदण्ड तोकेर जिल्लाभित्र मात्रै केही दिन गाडी चलाउन दिएको थियो । तर, धेरै जिल्लामा निशेधाज्ञा लगाइएपछि छोटा दूरीका गाडि पनि अहिले चलेका छैनन् ।