३० भदौ, काठमाडौं । बेलायतको कार्डिफ युनर्भिसिटीका वैज्ञानिकहरुले शुक्र ग्रहमा जीवन हुन सक्ने बताएका हुन् ।
उनीहरुले शुक्र ग्रहको वायुमण्डलमा फास्फिन ग्यास फेला परेको भन्दै सूक्ष्म जीवहरु शुक्र ग्रह माथिको बादलमा तैरिएर रहेको हुन सक्ने सम्भावना औंल्याएका छन् ।
वैज्ञानिकहरुका अनुसार फास्फिन एक फास्फोरसको र तीन हाइड्रोजको कण मिलेर बन्दछ । पृथ्वीमा पनि फास्फिनको सम्बन्ध जीवनसँग छ । यो ग्यास पेन्गुइन जस्ता जीवको पेटमा पाइने सूक्ष्म जीवसँग सम्बन्धित छ या दलदल जस्तै कम अक्सिजन भएको स्थानमा पाइन्छ । यस ग्यासलाई माइक्रो ब्याक्टेरियाहरुले अक्सिजनको अनुपस्थितिमा उत्सर्जन गर्दछन् । फस्फिन कारखानाबाट पनि बनाउन सकिन्छ तर शुक्र ग्रहमा कारखाना छैन, पेन्गुइन पनि पक्कै छैन ।
त्यसो हो भने शुक्र ग्रहमा यो ग्यास किन छ ? त्यो पनि ग्रहको सतहबाट ५० किलोमिटर माथि ? बेलायतको कार्डिफ युनिभर्सिटीका प्रोफेसर जेन ग्रिब्स र उनका सहकर्मीहरुको प्रश्न यही हो ।
उनीहरुले नेचर एस्ट्रोनोमी नामको जर्नलमा एक रिपोर्ट प्रकाशित गरेका छन्, जसमा शुक्र ग्रहमा फस्फिन ग्यास भएको उल्लेख छ ।
यद्यपि उनीहरुले शुक्र ग्रहमा जीवन मिलेको दाबी गरेका छैनन् । बरु त्यहाँ जीवन हुन सक्ने सम्भावनाबारे थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।