एजेन्सी, ३१ भदौ । प्रि–सिजनअन्तर्गत मैत्रीपूर्ण क्लब फुटबलमा रियल मड्रिडले फराकिलो जित निकालेको छ । मंगलबार राति भएको खेलमा रियलले गेटाफेमाथि ६–० गोलको जित निकालेको हो ।

रियलको प्रशिक्षण मैदान स्टेडियो अल्फ्रेडो डी स्टेफानोमा भएको खेलमा रियललाई जिताउन करिम बेन्जेमाले ह्याट्रिकसहित ४ गोल गरे भने कप्तान सर्जियो रामोस र युवा टिमका खेलाडी सर्जियो अरिबासले एक गोल गरे ।
गेटाफे र रियलले ला लिगाको तयारीका रूपमा यो खेल खेलेका हुन् । डिफेन्डिङ च्याम्पियनसमेत रहेको रियलले आइतबारबाट नयाँ सिजनको ला लिगा थाल्दैछ । रियलले पहिलो खेलमा रियल सोसिडाडसँग खेल्नेछ ।