पीएसजीले एम्बाप्पेलाई ३०० मिलियन युरोभन्दा बढीमा मात्र बेच्ने

Spread the love

एजेन्सी, फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आफ्ना स्टार किलियन एम्बाप्पेलाई ३०० मिलियन युरोभन्दा बढीमा मात्र बेच्ने अपेक्षा गरेको छ ।

पछिल्लो समय पेरिस छोड्ने मनसाय बनाएका विश्वकप विजेता एम्बाप्पेलाई ३०० मिलियन युरोभन्दा बढीमा मात्र बेच्ने पीएसजीको अपेक्षा रहेको स्पेनिस मिडिया मार्काले जनाएको छ ।

फ्रान्सेली स्टार एम्बाप्पेले आगामी समरमा पेरिस छोड्ने भनेर क्लबलाई जानकारी दिएका छन् । एम्बाप्पेले यसै सिजनको अन्त्यमा फ्रान्सको राजधानी पेरिस छोड्न चाहेको र सो कुरा क्लबलाई जानकारी गराइसकेको ब्रिटिश मिडिया ‘द टाइम्स’ले जनाएको छ ।

२१ वर्षीय एम्बाप्पे र पीएसजीबीचको सम्झौता जुन २०२२ मा सकिँदैछ । उनी सन् २०१८ मा मोनाकोबाट १६५ मिलियन युरोमा पीएसजी सरुवा भएका थिए ।

दोस्रो महँगो खेलाडीका रूपमा पीएसजीले उनलाई भित्र्याएको थियो । उनले पीएसजीबाट १०२ खेल खेल्दा ७७ गोल गरेका छन् ।

उनलाई लिएर स्पेनिस क्लब रियल मड्रिड इच्छुक देखिएको बताइएको छ । तथापि, कोरोनाका कारण प्रभावित क्लबहरूले उनलाई भित्र्याउन त्यति सहज भने हुनेछैन ।

‘द सन’का अनुसार पीएसजीले एम्बाप्पेका लागि ३२४ मिलियन युरोको अपेक्षा गरेको छ ।

रियल मड्रिडले पनि अघिल्लो समरमा १०० मिलियन युरो मात्र खेलाडीका लागि खर्च गर्नसक्ने जनाइसकेको छ ।

पीएसजीले ३०० मिलियन युरोभन्दा माथिको अडान लिइरहेको खण्डमा एम्बाप्पेलाई फ्रेन्च च्याम्पियन क्लब छोड्न कठिन नै हुने देखिएको छ ।

हाल उनी कोरोना संक्रमित भइ होम आइसाेलेशनमा रहेका छन् । केही दिनअघि मात्र एम्बाप्पेमा कोरोना संक्रमण पुष्टि भएको थियो ।


Spread the love

Leave a Reply

Your email address will not be published. Required fields are marked *