काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष वामेदव गौतम राष्ट्रिय सभामा मनोनित भएका छन्। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा मनोनित गरेकी हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता सह–सचिव हरिप्रसाद दहालका अनुसार राष्ट्रपति भण्डारीले संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम सरकारको सिफारिसमा गौतमलाई मनोनित गरेकी हुन्।
राष्ट्रियसभा सचिवालयका अनुसार गौतमको शपथ बिहीबार दिउँसो ४ बजे हुँदैछ। गौतमले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाबाट राष्ट्रियसभा सदस्यको रुपमा शपथ लिनेछन्। सिंहदरबारमा शपथ गराउने गरी तयारी भएको छ।
सरकारले गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय गरेको जानकारी प्रधानमन्त्री केपी ओलीले भदौ १८ गतेको नेकपा सचिवालय बैठकमा गराएका थिए।
फागुनदेखि रिक्त रहेको राष्ट्रिय सभाको एक पदमा अर्थमन्त्री डा. युवराज खतिवडालाई पुनःनियुक्त गर्ने चर्चा चलेको थियो। उक्त विषयले नेकपामा विवाद चर्किएपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले राष्ट्रियसभामा गौतमलाई सिफारिस गर्ने निर्णय भएको जानकारी सचिवालय बैठकमा गराएका थिए।
फागुनमै राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यकाल सकिएपछि डा. खतिवडा गैर सांसदको रुपमा ६ महिनाम्म मन्त्री बनेका थिए। सरकारको यो निर्णयसँगै उनको मन्त्री पद जाने निश्चित भएपछि खतिवडाले भदौ २० गते अर्थमन्त्रीबाट राजीनामा दिएका हुन्। खतिवडालाई अहिले प्रधानमन्त्री ओलीले मन्त्रीकै सुविधामा विशेष आर्थिक सल्लाहकारको जिम्मेवारी दिएका छन्।
२०७४ सालको प्रतिनिधिसभाको चुनावमा बर्दियामा पराजित भएका गौतम अढाई वर्षपछि शीतल निवासको मनोनयनबाट संसद प्रवेश गर्न लागेका हुन्।