काठमाडौं ।
नागरिक दैनिकमा कार्यरत पत्रकार, कर्मचारी र मजदूरले पेशागत रक्षाका लागि सत्याग्रह सुरु गरेका छन् । नागरिक दैनिकले नियमित रूपमा पारिश्रमिक नदिएको तथा पूर्वजानकारीविनै जागिरबाट निकालेको विरोधमा सोमबारदेखि सत्याग्रह सुरु भएको हो ।

काठमाडौं बाघदरबारमा रहेको कार्यालय अगाडि नागरिक दैनिकको तेस्रो पृष्ठ हेर्दै आएका नाइट डेस्कमा कार्यरत सुविद गुरागाईं सत्याग्रह बसेका हुन् । उनको समर्थनमा अन्य सहकर्मीले पनि साथ दिएका छन् ।
गुरागाईंले भने, ‘लकडाउनका बेला घर पठाइएका श्रमजीवीहरूलाई एउटा मेल पठाएर तेरो जागिर छैन भन्न मिल्छ ? आजै एउटा कर्मचारीलाई तेरो जागिर सकियो, अर्को मानिस राखियो भन्ने जवाफ दिएछन् यस्तो गर्नु त बेइमानी हुन्छ नि !’
उनले असारमा प्रकाशन गृहले काममा बोलाए पनि आफूहरू बाहिर रहेको र बिरामी भएकोले कार्यालय आउन नपाएको उनले बताए । ‘म बिरामी थिएँ । हात नचल्ने समस्या थियो । थेरापी गराइरहेको थिएँ । यसबारे त्यसबेलै अस्पतालको रिपोर्टहरू कार्यालयमा जानकारी पठाएको हुँ अरु साथीहरूलाई पनि यस्तै समस्या थियो । लकडाउनका बेला उपत्यकाबाहिर भएका कर्मचारी कसरी काठमाडौं आउने ? आउन पाइएकै थिएन,’ उनले भने ।
वर्क फर्म होममा राखे पनि नियतवश आफूहरूलाई काम नदिइएको उनले बताए । उनले भने, ‘यसमा पनि प्रकाशन गृहले भेदभाव गर्यो । कसैलाई अनलाइनबाटै काम गर्न दिइएको छ तर मलाई त अनलाइनबाट पनि काम गर्न दिइएन । जसरी पनि दु:ख दिने र जागिरबाट निकाल्न खोजिएको थियो ।’
उक्त दैनिकमा कार्यरत अर्का एक पत्रकारका अनुसार नियमित तलब दिइएको छैन ।
‘जेठ र असारको तलब बल्लबल्ल पाइएको छ । दुई महिनाको तलब पाएका छैनौं,’ उनले भने ।
विभिन्न दबाबमूलक कार्यक्रम गरे पनि प्रकाशन गृहले नियमित तलब नदिएको उनले जानकारी दिए ।
नागरिक दैनिकमा गरिएको सत्याग्रहमा नेपाल पत्रकार महासंघले पनि ऐक्यवद्धता जनाएको छ।
कोरोनाका बाहनामा प्रकाशन गृहले पत्रकार, कर्मचारी र मजदुरलाई पूर्वजानकारीविनै निष्कासन गरिएकोले पत्रकार महासंघले समस्या समाधान गर्न पटकपटक आग्रह गरिसकेको बताएको छ ।
महासंघका महासचिव रमेश बिष्टका अनुसार विभिन्न प्रकाशन गृह गरी १२ वटा प्रकाशन गृहमा पारिश्रमिक नदिने र कर्मचारी निकालिएका घटनाबारे महासंघको जानकारीमा छ ।