काठमाडौँ ।
भारतीय दबाबका बाबजुद छुटेको लिम्पियाधुरासम्मको भूभाग समेटेर नेपालको नक्सा सार्वजनिक गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसबारे तयार पारेको पुस्तक सार्वजनिक गर्न भने रोकेका छन्।
पाठ्यव्रmम विकास केन्द्रले नेपालको समग्र परिचयसहित तयार पारेको ‘नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री’ नाम पुस्तक स्वीकृतका लागि मन्त्रिपरिषदमा पेश भए पनि प्रधानमन्त्री ओलीले रोकेका हुन्।
गत बिहीबार बसको मन्त्रिपरिषदको बैठकमा उक्त पुस्तक सार्वजनिक गर्नेबारे छलफल हुँदा प्रधानमन्त्री ओलीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेललाई अहिले बाहिर नल्याउन निर्देशन दिएको स्रोतको भनाइ छ।
कुटी, गुञ्जी, नाभी हुँदै लिम्पियाधुरासम्मको भूभाग समेटेर नयाँ नक्सा सार्वजनिक गर्दा नेपालको क्षेत्रफल १ लाख ४७ हजार ६ सय ४१.२८ वर्गकिलोमटिर पुगेको उक्त पुस्तकमा उल्लेख छ।
त्यसअघि सरकारले सार्वजनिक गरेका औपचारिक कागजपत्रमा देशको क्षेत्रफल १ लाख ४७ हजार एक सय ८१ वर्गकिलोमिटर मात्र उल्लेख हुँदै आएको छ। भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले लिम्पियाधुरासहितको भूभाग समेटेर गत जेठ ७ गते नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेको थियो।
उक्त नक्साअनुसार संविधानको अनुसूचीमा भएको निशान छापलाई समेत संशोधन गर्न सरकारले पेश गरेको संविधान संशोधन विधेयकलाई दुवै सदनले जेठ ३१ गते पारित गरेका थिए। नेपालले नक्सा सार्वजनिक गरेपछि चिढिएको भारतले अहिलेसम्म द्धिपक्षीय वार्ताका लागि तयार भएको छैन। भारतको स्वतन्त्रता दिवसका दिन दुई देशका प्रधानमन्त्रीबीच सामान्य कुराकानी भएदेखि बाहेक थप दुई देशबीच छलफल हुन नसकेको अवस्थामा ओलीले पुस्तक सार्वजनिक नगर्न निर्देशन दिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
उक्त पुस्तकमा नेपालको प्राचीनदेखि आधुनिक समय समयसम्मका विषयवस्तुहरु समेटिएका छन्। पुस्तकमा नेपालको ऐतिहासिक सन्दर्भ, सिमानाको परिचय र सिद्धान्त, नेपाल शब्दको उत्पत्ति, प्राचीन इतिहास, पृथ्वीनारायण शाहको एकीकरण अभियान, पृथ्वीनारायण शाहपछि नेपालको विस्तार, विशाल नेपालको निर्माण र सब्कुचन जस्ता विषय समेटिएका छन्।
किताब विवादबारे जानकारी
शिक्षा मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीका लागि तयार पारेको हो यो पुस्तक जसको नाम छ– नेपालको भूभाग र सीमासम्बन्धी स्वाध्याय सामग्री ।
लिपुलेक, कालापानी र लिम्पियाधुराको ४६० दशमलव २८ वर्गकिलोमिटर भूभाग थपिएर नेपालको कुल क्षेत्रफल एक लाख ४७ हजार ६४१ दशमलव २८ वर्गकिलोमिटर पुगेको विवरण किताबमा छ ।
भारतसँग कूटनीतिक वार्तामा असर पर्न सक्छ भन्दै अहिले किताब छाप्न हतार हुने मूल्यांकन सरकारभित्रै छ । तर, संसद्ले सर्वसम्मत पारित गरेको नक्सामा सरकारी निकायबीचमा अनौठो विवाद भइरहेको छ ।
‘किताब वितरण रोक्नुस् भनेर प्रधानमन्त्रीले मन्त्रिपरिषद्मै भन्नुभयो, अब परराष्ट्र, भूमि व्यवस्था मन्त्रालयसहित छलफल गर्छौँ । अन्तरमन्त्रालय छलफल गरेर स्पष्ट पार्छौँ,’ मंगलबार शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पत्रकारहरूसँग भने ।
जेठमा सरकारले निर्णय गरेअनुसार भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले ७ जेठमा नक्सा जारी गरेकी थिइन् । ३१ जेठमा प्रतिनिधिसभा र ४ असारमा राष्ट्रिय सभाले पारित गरेको थियो । तर, थपिएको भूमि कति हो भनेर सरकारले अहिलेसम्म खुलाएको छैन ।