फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) समस्यामा परेको छ । अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारियालाई ४ खेलको प्रतिबन्ध लागेसँगै पीएसजीलाई समस्या परेको हो ।
१३ सेप्टेम्बरमा भएको मार्सेलीविरुद्धको खेलमा विपक्षी खेलाडीलाई थुकेको आरोपमा डी मारियामाथि चार खेलमा प्रतिबन्ध लगाइएको हो । मार्सेलीका डिफेन्डर अल्भारो गोन्जालेजलाई थुकेको आरोप उनीमाथि छ ।
लिग वानअन्तर्गत भएको खेलमा नेयमारसहित पीएसजीका पाँच खेलाडीले रातो कार्ड पाएका थिए । जुन खेलमा पीएसजी १–० ले स्तब्ध भएको थियो । पीएसजीको मैदानमा भएको सो खेलमा घरेलु टोलीका नेयमारसहित लिएन्ड्रो परेडेस र लेविन कुर्जावा तथा मार्सेलीका जोर्डन अमावी र डेरियो बेनेडेटोलाई मैदानबाहिर पठाइएको थियो ।
त्यसपछि नेयमारलाई दुई खेलमा प्रतिबन्ध लगाइएको थियो भने कुर्जावालाई ६ खेलमा प्रतिबन्ध लागेको थियो । यस्तै परेडेसलाई दुई खेलमा प्रतिबन्ध लागेको थियो ।
यसैगरी मार्सेलीका जोर्डन अमावीमाथि तीन र डेरियो बेनेडेटोलाई समान एक–एक खेलको प्रतिबन्ध लागेको थियो ।